विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको ओमिक्रन स्ट्रेनको एउटा सब-भेरिअन्टलाई “भेरिअन्ट अफ इन्ट्रेस्ट” अर्थात् “चासोको भेरिअन्ट” को वर्गमा राखेको छ।

जेएन.१ (JN.1) नाम दिइएको उक्त सब-भेरिअन्ट “तीव्र गतिमा फैलिरहेको” डब्ल्यूएचओले जनाएको छ।

भारत, चीन, यूके र संयुक्त राज्य अमेरिकासहित विश्वका विभिन्न देशमा जेएन.१ फेला परिसकेको छ। नेपालमा भने अहिलेसम्म ओमिक्रन कोरोनाभाइरसको उक्त सब-भेरिअन्ट भेटिएको पुष्टि भइसकेको छैन।

डब्ल्यूएचओका अनुसार जेएन.१ बाट सर्वसाधारण मानिसलाई हुन सक्ने जोखिम अहिले निकै कम छ।

अहिले कोभिड-१९ विरुद्ध प्रचलनमा रहेका खोपहरूले मानिसलाई उक्त सब-भेरिअन्टबाट पनि सुरक्षा दिने उसले जनाएको छ।

तर डब्ल्यूएचओले हिउँद याममा कोभिड र अन्य सङ्क्रमण फैलिन सक्ने चेतावनी दिएको छ।

श्वासप्रश्वास प्रणालीमा सङ्क्रमण गराउने इन्फ्लूएन्जा भाइरस, रिस्पिरटरी सिन्सिशल भाइरल (आरएसभी) र बालबालिकामा हुने निमोनियाको समस्या उत्तरी गोलार्धमा पर्ने देशहरूमा बढ्दो क्रममा छ।

कोभिड गराउने भाइरस निरन्तर परिवर्तित भइरहेको छ। उक्त भाइरसका नयाँ भेरिअन्टहरू पनि देखा परेका छन्।

केही समयदेखि विश्वभरि ओमिक्रन भेरिअन्ट बढी देखा परेको छ।

डब्ल्यूएचओले जेएन.१ सहित ओमिक्रनसँग सम्बन्धित केही भेरिअन्टलाई अनुगमन गरिरहेको छ।

तर ती कुनै पनि चिन्ताको विषय नभएको उसको भनाइ छ।

जेएन.१ अहिले विश्वका विभिन्न स्थानमा तीव्र गतिमा पुगिरहेको देखिन्छ।अहिले अमेरिकामा तीव्रतम गतिमा फैलिरहेको कोरोनाभाइरस पनि यही भेरिअन्ट भएको अमेरिकी जनस्वास्थ्य निकाय सीडीसीले जनाएको छ।

अहिले अमेरिकामा पुष्टि हुने कोभिडमध्ये जेएन.१ ले १५-२९ प्रतिशत सङ्क्रमण गराउने गरेको छ।

यूके हेल्थ सिक्युरटी एजेन्सीका अनुसार प्रयोगशालामा पुष्टि हुने कुल कोभिडमध्ये सात प्रतिशत जेएन.१ मा फेला परेको छ।

 

Your Views
Related News