काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना बढेको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय समाजको २० औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै मन्त्री महतले यस्तो बताउनुभएको हो । उहाँले अर्थतन्त्र विस्तारै लयमा फर्किरहेकाले चालु आर्थिक वर्षमा ६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य प्राप्त हुने सम्भावना पनि बढेर गएको बताउनु भयो ।

मन्त्री महतले मुलुकको आर्थिक अवस्था निराशाजनक नरहेको जिकिर गर्नुभयो । सामाजिक सञ्जालमा नकारात्मक कुरा भए पनि तथ्यले मुलुकको अर्थतन्त्र लयमा फर्किंदै गएको देखिएको अर्थमन्त्री महतको दाबी थियो ।

 

‘‘अहिले हाम्रो अर्थतन्त्र विस्तारै लयमा फर्किएको छ । विदेशी रेमिट्यान्स पनि स्वदेशमा आइरहेको छ । बैंक ब्याजदर पनि धेरै छलफलपछि कम हुँदैछ । शेयर मार्केट पनि बढेको छ । जग्गाको कारोबार पनि बढेको छ । अत्याधिक अवस्थामा शेयर र जग्गामा अत्याधिक कारोबार हुँदाखेरी माग आपूर्तिको बीचमा ठूलो असन्तुलन भयो ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘त्यसले गर्दा त्यहाँ सिथिलता आएको थियो । अब विस्तारै पनि लय फर्किदै छ । र, राजश्व पनि विस्तारै बढ्न थालेको छ ।’’

हरेक क्षेत्रको आर्थिक गतिविधि बढेकाले मुलुकको अर्थतन्त्र लयमा फर्किएको पुष्टि भएको तर्क समेत गर्नुभयो । अर्थमन्त्री महतले तथ्यहरुलाई लिएर सकारात्मक छलफललाई अघि बढाउने हो भने मुलुकको आर्थिक गतिविधिले अझ बढावा पाउने विश्वास समेत व्यक्त गर्नुभयो ।

‘‘आर्थिक गतिविधि बढ्न थालेको छ । अब निराशाको अवस्था चाहीँ छैन । खाली एउटा सामाजिक सञ्जाल पब्लिक स्पेसमा नेगेटिभ कुरा चाहीँ नेपालमा धेरै बिक्छ । नेगेटिभ कुरा ग¥यो भने त्यसमा लाईफ, फलोअर्स पनि बढिहाल्छ । अब अरु क्रियटिभ कुरा, पोजेटिभ कुराहरुलाई सहजै विश्वास गरिँदैन । त्यसकारण अब यो कुरा जो तथ्य सामुन्ने छ ।,’’ अर्थमन्त्री महतले भन्नुभयो, ‘‘त्यसको आधारमा छलफल चलाउने हो भने सकारात्मक माहोल बन्छ । र आत्मविश्वास बढछ । आत्मविश्वास बढेको अवस्थामा अर्थतन्त्रले अझ बढी पिकअप लिन्छ भन्ने मलाई लागेको छ । अघि मूल्यवृद्धि पनि साढे ५ प्रतिशतमा झरेको छ । त्यसो हुनाले आर्थिक वृद्धिको हाम्रो ६ प्रतिशतको लक्ष्य पनि करिव हामीले प्राप्त गर्ने सम्भावना देखिँदैछ ।’’

सो अवसरमा अर्थमन्त्री महतले सार्वजनिक पुस्तकालयहरुको व्यवस्थापनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्ने आश्वासन समेत दिनुभयो ।

 

Your Views
Related News