काठमाडौं : नेपाल-भारत संयुक्त आयोगको बैठक सुरु भएको छ। काठमाडौंको याक एण्ड यति होटलमा आयोगको बैठक सुरु भएको हो। नेपालका तर्फबाट परराष्ट्र मन्त्री एनपी साउद र भारतका तर्फबाट त्यहाँका विदेशमन्त्री एस जय शंकरले बैठकको नेतृत्व गर्नेछन्।

बैठकमा उर्जा, व्यापार, सीमा लगायतका विषयमा द्विपक्षीय छलफल हुनेछ।  नेपाल-भारत संयुक्त आयोगको यो सातौं बैठक हो। बैठकमा सहभागी हुन जयशंकर आज बिहान भारतबाट काठमाडौं आएका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिए लगत्तै विदेशमन्त्री जयशंकरले उच्चस्तरीय राजनीतिक भेटवार्ता सुरु गरेका हुन्। यस अगाडि शीतल निवासमा पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गरेका थिए।

त्यसपश्चात सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। भेटमा दुई देशबीचको सम्बन्ध, द्वीपक्षीय हित र चासो, नेपाल–भारत दीर्घकालीन विद्युत् व्यापार र प्रधानमन्त्री प्रचण्डको गत जेठमा भएको भारत भ्रमणमा भएका सम्झौता कार्यान्वयनका विषयमा छलफल भएको छ।

बैठकमा भारतीय दूतावासको साना विकास परियोजना (एसडिपी)बारे सम्झौतासमेत हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासले नेपालमा सिधै २० करोडसम्म लगानी गर्न सक्नेछ। मन्त्रिपरिषद् बैठकले हालै उक्त परियोजनाअन्तर्गत भारतीय दूतावासलाई २० करोड लगानी गर्न दिने निर्णय गरेको थियो।

त्यस्तै बैठकमा भारतसँग भएको विद्युतीय व्यापार सम्झौताका विषयमा पनि हस्ताक्षर हुनेछ। परराष्ट्रमन्त्री एनपी साउदले यसअघि नै विद्युतीय व्यापार सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। प्रधानमन्त्री दाहाल भारत भ्रमणमा गएका बेला भारतले नेपालसँग १० वर्षमा १० हजार मेगावाट विजुली खरिद गर्ने सम्झौता गरेको थियो।

भारतीय विदेश मन्त्रीको भ्रमणको क्रममा १३२ केभीएका तीनवटा प्रसारण लाइनको उद्घाटन गर्ने तयारी भएको छ। भारतको उत्तर प्रदेशसँग जोडिने नौतनवा–मैनाहिया प्रसारण लाइन,भारतको बिहार प्रदेशसँग जोडिने रक्सौल–परवानीपुर प्रसारण लाइन र कुशाहा–कटैया प्रसारण लाइनको दुवै देशका परराष्ट्र मन्त्रीहरूले संयुक्तरुपमा उद्घाटन गर्नेछन्।

नेपाल र भारतबीच इनर्जी बैंक बनाउने विषयमा समेत छलफल हुने स्रोत बताएको छ।

 

Your Views
Related News