हेटौंडा : बागमती प्रदेशको आइतबार साँझ बसेको बैठकले ७ वटा कार्यविधि स्वीकृत गरेको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले कृषि मन्त्रालय, स्वास्थ्य मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलगायत विभिन्न मन्त्रालयले प्रस्ताव गरेको ७ वटा कार्यविधि स्वीकृत गरेको हो।

बैठकबाट जनचेतनामुलक प्रचारक सामग्री निर्माण, प्रशारण तथा वितरण कार्यविधि २०८० र मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम सञ्चालन कार्यविधि २०८०  स्वीकृत भएको छ।

त्यसैगरी द्वन्द्व पीडितको लागि सबलीकरण कार्यविधि २०८० स्वीकृत भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए। बैठकले कृषि तथा पशुपछी विकास मन्त्रालयतर्फको एक वडा एक कृषि पशुपछी तथा मत्स्यजन्य उत्पादन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८० स्वीकृत गरेको छ।

त्यस्तै स्वास्थ्य मन्त्रालयतर्फको एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालनका लागि दोस्रो संशोधन कार्यविधि २०८०,  गर्भवती तथा सुत्केरी अवस्थाका ज्यान जोखिममा परेका महिलाको निःशुल्क हवाई उद्धार सेवा सम्बन्धी कार्यविधि २०८० र दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालन सम्बन्धी कार्यविधि २०८० समेत स्वीकृत भएको हो।

बैठकले संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको समस्याग्रस्त सहकारी संस्थाको निम्ति व्यवस्थापन समिति गठन तथा सो समितिको सेवा सुविधा र सर्तसम्बन्धी व्यवस्था सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ।

 

Your Views
Related News