काठमाडौं :  बलात्कार अभियोगमा दोषी ठहर गरेको क्रिकेटर सन्दीप लामिछानेलाई आज काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने भएको छ। गत पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई सजाय निर्धारणका लागि आज पेसी तोकिएको छ।

न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो। काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले पीडित भनिएकी गौशला-२६ लाई भने नाबालिग नरहेको ठहर गरेको छ। विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको हो।

नौ जनाले गरेको घटना विवरण कागज, बकपत्रलगायत सीसीटीभी फुटेजलाई समेत आधार लिँदै दोषी ठहर गरिएको आदेशमा जनाइएको छ। गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रमसमेतलाई विचार गर्दा करणी भएको देखियो,’ आदेशमा भनिएको छ, ‘सन्दीपले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (१),(२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ।’ मुलुकी अपराध संहितामा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरको महिला भए ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।

नाजुक अवस्थाको लाभ लिएर करणी

अदालतले पीडितको उमेर १८ वर्ष पुगिसकेको समेत ठहर गरेको छ। त्यस्तै पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाएर करणी गरेको अदालतको ठहर छ। ‘नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएको’ आदेशमा उल्लेख छ। दोषी ठहर भएका लामिछानेलाई ७ देखि १० वर्षको जेल सजाय हुन सक्छ। शुक्रबार सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरेपछि सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। सोही क्रममा पीडितले पनि घटना विवरणसहित आफ्ना कुराहरू राखेकी थिइन्।

२३ वर्षमै खेल जीवनमा धक्का 

दोषी ठहर भएका सन्दीप २३ वर्षका छन्। स्याङ्जामा जन्मेका सन्दीप १९ वर्षमुनिको (यू १९)को टोलीमा छनोट भई व्यावसायिक रूपमा क्रिकेट खेल्न थालेका थिए। तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो। भदौ ५ गते तीलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।

भदौ २२ गत उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भदौ २३ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। आफूविरुद्धको जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए।  स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीप उच्च अदालत पाटन पुगेका थिए।

नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीबाट निलम्बन गरेको बेला उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। २०७९ पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको थियो। उच्च अदालतको आदेशपछि क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको थियो। तर, विदेश जान भने रोक लगाएको थियो।

सन्दीपले लिग टुकोलागि विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। २०७९ फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले धरौटीमा छोड्ने उच्च अदालतको आदेश सदर गर्दै ससर्त विदेश जाने अनुमति दिएको थियो।

 

Your Views
Related News