विराटनगर : विराटनगरको रत्ना होटलमा सञ्चालित क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाहरूबीच मध्यराति खुकुरी हानाहान भएको छ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेका युवाहरूबीच विराटनगर महानगरपालिका-११ स्थित सम्राट क्यासिनोमा शनिबार बिहानका राति १:३० बजेतिर झगडा भएको थियो। झगडा हुन थालेपछि क्यासिनोबाट बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए। बाहिर निकाल्नासाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको प्रत्यक्षदर्शीले बताए। खुकुरी प्रहारबाट विराटनगर-११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन्।

 

उनको टाउको र देब्रे कानमा गहिरो चोट लागेको छ। विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचाररत कँडेलको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ। गहिरो चोट लागेपनि अवस्था खतरामुक्त रहेको जानकारी अस्पतालले प्रहरीलाई दिएको छ। मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले घटनामा संलग्न झापाको घैलाडुब्बा घर भइ विराटनगर-८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलियालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन्। ‘युवाहरूबीच झैझगडा र कुटाकुट भएको जानकारी प्राप्त हुनसाथ घटनास्थलमा प्रहरी टोली पुगेको थियो,’ दाहालले भने, ‘घटनामा संलग्नमध्ये थपलियालाई पक्राउ गरिएको छ।’

युवाहरूबीच कुटाकुट मात्रै भएको जानकारी प्राप्त भए पनि घटनाको प्रकृति हेर्दा धारिलो हतियार नै प्रहार गरेजस्तो देखिने उनको भनाइ छ। घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको र अनुसन्धानपछि थप प्रष्ट हुने दाहालले बताए। प्रहरीले घटनामा प्रयोग गरिएको हतियार बरामद गर्न सकेको छैन। दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथीसाथी हुन्।

‘कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए। जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर साथी-साथीबीच नै विवाद भएको थियो,’ एक प्रत्यक्षदर्शीले भने, ‘झगडा हुन थालेपछि क्यासिनोका बाउन्सरले उनीहरूलाई बाहिर निकाले। त्यसपछि क्यासिनो परिसरमै उनीहरूबीच खुकुरी र हेल्मेटले हानाहान हुन थाल्यो।’ खुकुरी र हेल्मेटले हानाहान गर्न थालेपछि बाउन्सर तथा सुरक्षागार्डले उनीहरुलाई क्यासिनो परिसरबाट बाहिर निकालेका थिए।

बाहिर निस्किएपछि सडकमा पनि उनीहरुबीच हानाहान भएको प्रहरीको भनाइ छ। झगडा नियन्त्रणमा लिने क्रममा युवाहरूले बसपार्कको ड्युटीमा खटिएका प्रहरीमाथि पनि दुर्व्यवहार गरेका छन्।

प्रहरी स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्न सँगै गएका किरण लिम्बूमाथि थपलियाले खुकुरी प्रहार गरेका थिए। विवाद बढ्दै जाँदा लिम्बुमाथि खुकुरी प्रहार गरिए पनि उनी छलिएर जोगिन सफल भए। उनलाई प्रहार गरेको खुकुरीले लागेर कँडेल घाइते भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार उपचारका लागि कँडेललाई अस्पताल लिएर लिम्बु नै पुगेका थिए।

घाइते अवस्थाका कँडेलले भने आफूमाथि नियोजितरूपमा खुकुरी प्रहार गरिएको बताए। ‘ट्रक व्यवसायी लक्ष्मी प्रसाईंसँग मेरो लेनदेनको विषय थियो। मलाई पैसा लिन आउनु भनेपछि म त्यहाँ पुगेको थिएँ,’ उनले भने, ‘विक्रम थपलिया र लक्ष्मी प्रसाईंलगायतका व्यक्तिहरू पहिलादेखि नै क्यासिनोभित्र रहेछन्। पैसा लिन बोलाएर ममाथि खुकुरी हानियो।’ आफू भने क्यासिनोमा नछिरेको दाबी कँडेलले गरेका छन्।

डीएसपी दाहालका अनुसार क्यासिनोका सञ्चालकले झगडामा संलग्न युवाहरूलाई प्रवेश नदिएको बताएका छन्। तर, क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएको उनको भनाइ छ। ‘यस विषयमा थप बुझ्दैछौं। विभिन्न कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको छ,’ दाहालले भने उनका अनुसार एउटै समूहका युवाबीच झगडा भएको पाइएको छ। ‘घाइते भएका युवाले नै घटनाका सम्बन्धमा कुरा खुलाउन चाहेका छैनन्,’ दाहालले भने, ‘घाइतेले नै नबोलिदिएपछि प्रहरी पनि अन्योलमा परिरहेको छ।’

प्रहरीका अनुसार थपलिया र कँडेल अपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्। दुवै जना एउटै पार्टी (नेपाली कांग्रेस)मा आवद्ध छन्। सट्टेबाजी (फड्का)मा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो।

कांग्रेस आवद्ध थपलियाको समूहलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीको संरक्षण रहेको प्रहरीका अधिकारी बताउँछन्। घाइते अवस्थाका कँडेलले पनि थपलियालाई गिरीले नै संरक्षण दिएर अपराध गर्न उक्साइरहेको आरोप लगाए। ‘मचाहिँ कांग्रेसमा आबद्ध छु। ऊ (थपलिया) अभिषेक गिरीको मान्छे हो,’ कँडेलले भने।

प्रहरी स्रोतका अनुसार थपलियाले पनि आफू अभिषेक गिरीको मान्छेभन्दै व्यापारी, सरकारी कर्मचारी तथा प्रहरी अधिकारीलाई थर्काउने र अनआवश्यक दबाब दिने गरिरहेका छन् । गिरीकै छत्रछायामा रहेर थपलियाले पछिल्लो समय विराटनगर र आसपासका स्थानमा आतंक मच्चाइरहेको प्रहरीको विश्लेषण छ।

‘केही समययता विराटनगरमा रोकिएको गुण्डागर्दीलाई अभिषेक गिरीको साथ लिएर थपलियाको समूहले अगाडि बढाउन खोज्दै छ। क्यासिनोमा जुवा खेल्ने क्रममा भएको झगडा त्यसको एउटा उदाहरण हो,’ प्रहरीका एक अधिकारी भन्छन्, ‘पछिल्लो समय मिटरब्याजको धन्दा चलाउने, व्यवसायीलाई धम्क्याउने र आतंकित पार्ने गरेको छिटपुट सूचना आइरहेको छ । दैनिकजसो क्यासिनोमा छिरेर जुवा खेल्ने गरेको पनि पाइयो।’

डीएसपी दाहालले भने घटनामा संलग्न र घाइते भएका युवाहरुको विगतको अपराधिक पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए। ‘विगतमा पनि अपराधमा संलग्न भएको जानकारी छ,’ उनले भने, ‘थप अनुसन्धानपछि धेरै कुरा ‘क्लियर’ हुन्छ।’

 

Your Views
Related News