काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई ऐतिहासिक सफलता मिलेको बताएका छन्। पेरिसडाँडामा शनिबार सम्पन्न स्थायी कमिटीमा बैठकमा उनले पार्टीको विशेष रुपान्तरण अभियानले ऐतिहासिक सफलता मिलेको ब्रिफिङ गरेका हुन्।

संसदीय निर्वाचनअघि त्यसखालको अभियान पार्टीले चलाउन नसकेको उनले बताएका थिए। ‘निर्वाचनअघि यसखालको अभियान चलाउन सकेको भए नतिजा अहिलेभन्दा राम्रो हुनेथियो,’ प्रचण्डले बैठकमा भनेका थिए।

उनले विशेष रुपान्तरण अभियानले माओवादी कार्यकर्तामा आशा पलाएको बताएका थिए। ‘यो अभियानले पार्टीलाई गतिशिलता दिएको छ। पहिलेभन्दा पार्टी प्रभावकारी बनेको छ। पार्टी संरक्षणको लागि यो ऐतिहासिक काम पनि हो। नेता कार्यकर्तामा आशा पलाएको मैले पाएको छु,’ बैठकमा उनले भने।

उक्त अभियानले नेता-कार्यकर्ताको मूल्यांकन गर्ने आधार पनि भेटिएको ब्रिफिङ उनले गरेका थिए। सक्रियता देखाएका र नदेखाएकाहरूलाई उक्त अभियानले छुट्याइदिएको उनको भनाइ थियो। ‘नेता कार्यकर्ताले काम नगरेको गुनासाहरू पनि सुन्ने गरिन्छ। को कति सक्रिय, को निस्क्रिय भन्ने यस अभियानले छुट्याएको छ। आगामी दिनमा नेतृत्व तहलाई मूल्याकंन गर्ने वस्तुगत आधार तयार भएको छ,’ उनले भने।

प्रचण्डले सरकारले पनि उत्कृष्ट काम गरेको ब्रिफिङ गरेका थिए। उनले आर्थिक अवस्था निकै सुध्रिएको र अन्तर्राष्ट्रिय सम्बन्ध पनि अहिलेसम्मकै राम्रो भएको बताएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले विश्वमै नयाँ सन्देश प्रवाह भएको र यसले नेपाललाई निकै फाइदा पुगेको उनले बताएका थिए। पछिल्लो समय गरेका वैदेशिक भ्रमणले पनि देश विकासका निम्ति फलदायी भएको उनले बताएका थिए।

उनले आगामी बजेटमा जनताको सुझावसमेत लिने बताएको पार्टी प्रवक्ता अग्नि सापकोटाले बताए। सबैसँग सर्वपक्षीय छलफल गरेरमात्रै बजेटको टुंगो लगाउने प्रधानमन्त्रीले ब्रिफिङ गरेको सापकोटाको भनाइ छ। ‘यसपटकको बजेट जनता तहमै पुगेर सल्लाहसुझावअनुसार बनाइने प्रधानमन्त्रीज्युले भन्नुभएको छ। उहाँले नीति तथा कार्यक्रम बनाउनेदेखि लिएर बजेट ल्यानेसम्म आमूल परिवर्तन गर्ने भन्नुभएको छ,’ प्रवक्ता सापकोटाले बताए।
त्यस्तै माओवादीले विधान सम्मेलन फागुन १ देखि ३ गतेसम्म गर्ने निर्णय गरेको थियो।

 

Your Views
Related News