विराटनगर : विराटनगरको रत्ना होटलमा सञ्चालित सम्राट क्यासिनोमा जुवा खेल्दा भएको विवादलाई लिएर खुकुरी प्रहार गरिएको घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ।

जुवा खेल्ने क्रममा भएको विवादलाई लिएर युवाहरूबीच शनिबार बिहानका राति १:३० बजेतिर खुकुरी हानाहान भएको थियो। घटनामा विराटनगर-११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन्। खुकुरी प्रहारबाट टाउको र देब्रे कानमा चोट लागेका कँडेलको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा १२ र कानमा ५ टाँका लगाइएको छ।

घटनामा संलग्न झापाको घैलाडुब्बा घर भइ विराटनगर-८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलिया पक्राउ परिसकेका छन्। कँडेललाई खुकुरी प्रहार गरेका उनीविरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा चलाइने मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार कँडेलकी पत्नीले दिएको किटानी जाहेरीका आधारमा थपलियाविरुद्ध मुद्दा चलाउन आइतबार अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ।

मादक पदार्थ सेवन (मापसे) गरेर विराटनगर महानगरपालिका-११ स्थित सम्राट क्यासिनो प्रवेश गरेका युवाहरूबीच जुवा खेल्ने क्रममा विवाद भएको थियो। विवाद गर्न थालेपछि बाउन्सरले उनीहरूलाई बाहिर निकालेका थिए। बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरूबीच खुकुरी र हेल्मेट हानाहान भएको थियो।

‘युवाहरूबीच झैझगडा हुँदा कँडेलमाथि थपलियाले खुकुरी प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखियो। थपलियालाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको छ,’ डीएसपी दाहालले भने, ‘अनुसन्धानबाट थप विषय खुल्दै जान्छ। घटनासँग सम्बन्धित प्रमाण जुटाउने काम प्रहरीले गरिरहेको छ।’ उनका अनुसार घटनामा प्रयोग गरिएको खुकुरी बरामद भएको छैन।

घाइते कँडेल र पक्राउ परेका थपलिया साथीसाथी तथा अपराधिक पृष्ठभूमिका व्यक्तिहरू हुन्। कँडेल र थपलियासहितका केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए। जुवा खेल्ने क्रममा विवाद उत्पन्न हुँदा घटना भएको प्रहरी स्रोतले बतायो।
थपलियाको समूहलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका गुन्डानाइके अभिषेक गिरीको संरक्षण रहेको प्रहरीका अधिकारी बताउँछन्। थपलियाले आफू अभिषेक गिरीको मान्छेभन्दै व्यापारी, सरकारी कर्मचारी तथा प्रहरी अधिकारीलाई थर्काउने र अनआवश्यक दबाब दिने गरिरहेका थिए। गिरीकै संरक्षणमा रहेर थपलियाले पछिल्लो समय गुण्डागर्दीका माध्यमबाट विराटनगर र आसपासका स्थानमा आतंक मच्चाइरहेको प्रहरीको विश्लेषण छ।

मिटरब्याजको धन्दा चलाउने, व्यवसायीलाई धम्क्याउने र आतंकित पार्ने गरेको छिटपुट सूचना आइरहेको प्रहरी स्रोतले बतायो। स्रोतका अनुसार थपलियाविरुद्ध मुद्दा नचलाउन राजनीतिक दलका नेतादेखि विभिन्न क्षेत्रका व्यक्तिबाट ठूलो दबाबसमेत आएको थियो। डीएसपी दाहालले घटनामा संलग्नको अपराधिक पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

उनका अनुसार क्यासिनोका सञ्चालकले झगडामा संलग्न युवाहरूलाई प्रवेश नदिएको बताएका छन्। तर, क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएसँगै यस विषयमा पनि अनुसन्धान सुरु गरिएको उनको भनाइ छ। ‘क्यासिनोमा जुवा खेलाएका कारण झगडा भएको हो कि हैन भनेर प्रमाणहरु संकलन गर्ने काम भइरहेको छ,’ उनले भने, ‘नेपाली युवालाई प्रवेश दिएर जुवा खेलाएको पुष्टि भएमा क्यासिनोका सञ्चालकविरुद्ध पनि जुवा ऐनअन्तर्गतको मुद्दा चलाइने छ।’

विराटनगरको रत्ना होटलमा ‘सम्राट’ र बिग होटलमा ‘च्याम्पियन जोन’ क्यासिनो सञ्चालनमा छन्। कानुनले क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरेको छ। तर, दुवै क्यासिनोमा कानुनविपरीत निर्वाधरूपमा प्रवेश गरेर नेपालीले जुवा खेल्दै लाखौं रूपैयाँ सकिरहेका छन्। स्रोतका अनुसार क्यासिनोका मुख्य ग्राहाक नै नेपाली उद्योगी, व्यापारी तथा युवाहरू हुन्।

क्यासिनोका सञ्चालकले प्रवेशमा कुनै रोकटोक नगरिकन निर्वाधरूपमा प्रवेश दिँदा जुवाप्रेमी नेपालीले क्यासिनोलाई मनोरञ्जनस्थल बनाएर धन सम्पत्ति सकिरहेका छन्। क्यासिनोमा प्रवेश गर्न विदेशी नागरिक पुष्टि हुने ‘आइडी कार्ड’ अनिवार्य देखाउनुपर्ने नियम छ। पैसा कमाउनकै लागि सञ्चालकले नेपालीलाई क्यासिनो प्रवेश गराउने गरेको स्रोतको भनाइ छ। युवाहरूबीच क्यासिनोभित्र विवाद र खुकुरी हानाहान भएको घटनाले पनि नेपालीले क्यासिनोमा खुलेआम प्रवेश पाइरहेको प्रष्ट हुन्छ।

राज्यका निकाय बेखबर हुँदा क्यासिनो सञ्चालकले मनोमानी ढंगबाट नेपालीलाई जुवा खेलाइरहेका छन्। कानुनविपरीतका गतिविधि हुँदा पनि प्रदेश सरकार, स्थानीय प्रशासन, विराटनगर महानगरपालिकासमेतका निकायले चासो दिएका छैनन्। विराटनगरका क्यासिनोमा नेपालीलाई प्रवेश गराउने गरेको उजुरी ‘हेलो सरकार’मा यसअघि नै परिसकेको छ।

 

Your Views
Related News