झापा : राष्ट्रिय वाणिज्य बैंकको खाताबाट एक सेवाग्राहीको ३ लाख ४३ हजार रकम गायब भएको छ। झापाको शिवसताक्षी नगरपालिका–६ स्थित राष्ट्रिय वाणिज्य बैंक शिवगञ्ज शाखाको खाताबाट स्थानीय आशाकुमारी राजवंशीको रकम गायब भएको हो।

उनको महालक्ष्मी सेभिङ खाता नम्बर २१७०१०००००२६३००४ बाट सो रकम गायब भएको उनका श्रीमान् कृष्णकुमारले इलाका प्रहरी कार्यालय दमकमा आइतबार लिखित उजुरी दिएका छन्। १५ हजार र २० हजारका दरले पटक पटक गरेर आफ्नो श्रीमतीको खाताबाट सो रकम हिनामिना भएको कृष्णकुमारले बताए।

बैंक कर्मचारीकै मिलेमतोमा खाताबाट रकम गायब पारिएको उनले आरोप समेत लगाएका छन्। एटिएम कार्डबाट सो रकम निकालेको देखिन्छ। ‘जबकि श्रीमतीले एटिएम कार्ड नै बनाएकी छैन,’ उनले भने।  बैक खाताबाट हराएको रकमका बारेमा गैर जिम्मेवार जवाफ दिएको बैंकले बैक इस्टेटमेन्ट दिन समेत नमानेको स्थानीय चन्द्रमणि पौडेलले बताए।

स्थानीयहरूको दबाबपछि मात्र बैक इस्टेटमेन्ट दिएको उनले बताए। अर्को कुनै व्यक्तिले खाताबाट सो रकम निकालेको भन्दै बैंकले घटना ढाकछोप गर्नलाई १ लाख ३ हजार, १ लाख ४० हजार र १ लाख गरी तीन पटकमा सो रकम आशाकुमारीको खातामा जम्मा गरिदिएको उनको भनाइ छ।

उजुरीकर्ताले किन र कसले रकम निकालेको भन्दै घटनाको सत्य तथ्य छानबिनका लागि प्रहरीसँगै राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय काठमाडौँमा समेत आजै उजुरी पठाइसकेको छ।

 

Your Views
Related News