काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका- ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा ‘गाडी खसेको’ सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको छ ।

अहिले गोताखोरको टोली डुंगा लिएर त्रिशूली नदीमा प्रवेश गरेर खोजिरहेको छ ।

मुग्लिन प्रहरीका अनुसार आज बिहान सवा चार बजेतिर त्रिशूली नदीमा गाडी खसेको भनेर स्थानीयले खबर गरेका थिए ।

उक्त गाडी कहाँबाट कहाँ जाँदै थियो, कस्तो प्रकारको गाडी हो भन्ने केही जानकारि भएको छैन ।

मुग्लिन प्रहरीका इन्सपेक्टर विशाल तामाङले अनलाइनखबरसँग भने, ‘पानीमा बत्ती बलेको पनि देखिएको थियो । अहिले चाहिँ बत्ती निभेको छ ।

तर गाडी कस्तो खालको हो, कत्रो हो, कहाँ जाँदै थियो भन्ने केही खुलेको छैन ।’

नदी किनारमा एउटा फलामको टुक्रा र भारतीय नम्बर प्लेट भेटिएको छ । तर त्यो अहिलेको हो वा पुरानो हो भन्ने पनि खुलेको छैन । ‘नम्बर प्लेट त कसैले उहिल्यै फ्याँकेको पनि हुनसक्छ, ‘ प्रहरी निरीक्षक तामाङले भने, ‘गोताखोरको टोली डुंगा लिएर नदीमा छिरेको छ, त्यो टोलीले पत्ता नलगाएसम्म एकिनका साथ केही भन्न सक्ने अवस्था छैन ।’
 

Your Views
Related News