दोलखा : दोलखाको कालिञ्चोक क्षेत्रमा मंगलबार दिउँसोबाट हिमपात भएको  छ । कालिञ्चोकको कुरी तथा आसपासको क्षेत्रमामा  हिमपात भएपछि दर्शन गर्न आएका भक्तजनहरू खुसी भएका छन् ।

मन्दिर दर्शन गर्न पुगेका पर्यटकहरू हिउँमा रमाइरहेको कालिञ्चोकको कुरीमा रहेको होटल माता कालिञ्चोकका रभी शिवालले बताए। तीन हजार आठ सय ४२ मीटर उचाइमा रहेको कालिञ्चोक क्षेत्रमा यो वर्ष ढिलोगरी हिमपात भएको हो।

यहाँ खासगरी कात्तिक महिनाबाटै हिमपात सुरु हुन्छ ।

गत वर्ष  भने फागुनको दोस्रो हप्ताबाट मात्र हिमपात भएको थियो । यो वर्ष  माघको सुरूका दिनबाटै  हिमपात भएपछि होटल व्यवसायीहरु खुसी भएका छन् ।  शुरुवाति दिनमा असिना जस्तो छ्यार्के परेको छ, यसको विशेषता भनेको धेरैदिनसम्म हिमपात हुनु हो ।

हिमपात भएपछि यो वर्ष जिल्लाका पर्यटकीयस्थल कालिञ्चोक, शैलुङ,चेर्दुङ लगायतका स्थानहरूमा पर्यटक आउने अपेक्षा गरिएको छ  । हिउँमा रमाउन यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरुको भीड लाग्ने गर्दछ । हिमपात नहुँदा हिमाली क्षेत्रका कृषक तथा होटल व्यवसायीहरु चिन्तित थिए ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण कालिञ्चोक हिउँदको समय होस् या वर्षायाम जुनसुकै समयमा पनि सुन्दर देखिन्छ । सदरमुकाम चरिकोटबाट १८ किलोमिटर दूरीमा रहेको पर्यटकीय केन्द्र कालिञ्चोकले हरेक मौसममा फरकफरक सुन्दरता  दिने हुँदा पर्यटकको गन्तव्यस्थल बन्न पुगेको हो । आन्तरिक पर्यटक मात्र होइन् बाह्य पर्यटकहरू पनि आउने  गर्छन् । केहि वर्षअघिसम्म आन्तरिक पर्यटक मात्र देखिने कालिञ्चोक मन्दिरमा अहिले दैनिकजसो ८०/९० जना भारतीय पर्यटक पुग्ने गरेका छन् ।

कालिञ्चोकको कुरीमा सुविधा सम्पन्न होटल भएकाले  पनि  विभिन्न चाडपर्व र विदाको समयमा दैनिक चार/ पाँच सय पर्यटक पुग्ने गर्छन्।  तीमध्ये झण्डै १०० जना भारतीय पर्यटक रहेको कालिञ्चोक भगवती मन्दिर संरक्षण तथा व्यवस्थापनका अध्यक्ष आयुष तामाङले बताए ।

कुरीबाट कालिञ्चोकको टाकुरासम्म केबलकार सञ्चालनमा आएकाले पनि पर्यटकलाई मन्दिर पुग्न निक्कै सजिलो भएको उनको भनाइ छ।  कालिञ्चोकको प्रवेश बजार कुरीबाट १ किलोमिटर केवलकारमार्फत् कालिञ्चोकको टाकुरामा  पुग्न सकिन्छ।  कुरीबाट केबलकारमा टाकुरा पुगेर फर्कन नेपालीलाई प्रतिव्यक्ति ६ सय रुपैयाँ शुल्क लाग्ने र भारतीय पर्यटकलाई  ९ सय ६० रुपैयाँ अन्य मुलुककालाई १३ सय शुल्क तोकिएको  केबलकार टिकट काउन्टरका सन्देश शिवाकोटीले बताए ।

कालिञ्चोकबाट गौरीशंकर,गणेशलगायत हिमशृङ्खला देख्न सकिन्छ । पहाडी टाकुरामा रहेको कालिञ्चोकमा जलकुण्ड पनि रहेको छ । यहाँको मुख्य विशेषता जलकुण्ड हो । जलकुण्डमा कतैबाट पानी आउने ठाउँ देखिदैन तर हिउँद वर्षा जुनसुकै समयमा पनि कुण्डमा पानी रहिरहन्छ । यहाँको दर्शन गर्नाले सम्पूर्ण विपत टरेर जाने किंवदन्ती रही आएको छ ।

 

Your Views
Related News