काठमाडौं : माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्वाचन आयोगले नेपाल सरकारलाई निर्देशन दिएको छ।  उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको संयोजक आयुक्त सगुनशमशेर जबराको अध्यक्षतामा बुधबार बसेको आयोगको बैठकले आवश्यक सुरक्षा व्यवस्थापन गर्न नेपाल सरकार र गृहमन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।

निर्वाचनको व्यवस्थापनलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन  मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर गर्दै उक्त निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थापनलाई विश्वसनीय र भरपर्दो बनाइ भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न, गराउन निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समिति गठन गरिएको प्रवक्ता श्रीधर पन्थीले जानकारी दिएका छन्।

निर्वाचन आचार संहिता कार्यान्वयनको सन्दर्भमा नेपाल प्रहरीलगायत सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन नेपाल सरकार,गृहमन्त्रालयमार्फत् सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय बैठकले गरेको हो।

निर्वाचक मण्डलका सदस्य मतदाताहरूलाई मतदान स्थल रहेको मोरङको विराटनगर, धनुषाको जनकपुर, मकवानपुरको हेटौंडा, कास्कीको पोखरा, दाङको घोराही, सुर्खेतको विरेन्द्रनगर र कैलालीको धनगढीमा होटल व्यवसायीहरूसँग समन्वय गरी मतदाताहरूको निजी खर्चमा बसोबासको प्रबन्ध मिलाउन आवश्यक समन्वय गर्न भनेको छ।

यसैगरी बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० बमोजिम निर्वाचन अधिकृतको कार्यालय स्थापना भएका मतदान हुने प्रदेशका सात जिल्लाहरू मोरङ,धनुषा, मकवानपुर,कास्की,दाङ,सुर्खेत र कैलाली जिल्ला प्रशासन कार्यालयलाई निर्वाचन सुरक्षा (व्यवस्था) निर्देशिका, २०७८ को दफा ५ बमोजिम गठित जिल्ला निर्वाचन सुरक्षा समितिलाई क्रियाशील तुल्याई निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी एवम् भरपर्दो बनाउन भनेको छ।

निर्वाचन आचार संहिता कार्यान्वयनको सन्दर्भमा नेपाल प्रहरीलगायत सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन नेपाल सरकार,गृह मन्त्रालय मार्फत सुरक्षा निकायहरूलाई निर्देशन दिने निर्णय भएको प्रवक्ता पन्थीले बताएका छन्।

 

Your Views
Related News