काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतपत्र छपाई गरी सातै प्रदेशको निर्वाचन अधिकृतहरूको कार्यालयमा पुर्‍याइएको छ।

निर्वाचन आयोगले स्वीकृत गरेको मतपत्रको डिजाइन तथा मापदण्ड बमोजिमका सबै मतपत्रहरु छपाई गरी सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुर्‍याइएको आयोगमा सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था रहेको छ। सोही अनुसार प्रदेश सभाका सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्र छपाइ भएका छन्।

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि सेतो रङको कागजमा रातो रङको मसीको विवरण तथा निर्वाचन चिह्न रहेको मतपत्रहरु छपाइ भएका छन् । मतदान प्रयोजनका लागि ३८ प्रकारका कूल ६९१० मतपत्रहरु छपाइ भएका छन्।

प्रदेशगत रुपमा रहेका निर्वाचक मण्डलका सदस्यको संख्या तथा निर्वाचन हुने पद संख्यालाई आधार मानी आयोगले तोकेको संख्यागत मापदण्डका आधारमा कोशी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९२० मतपत्र, मधेश प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ९४० मतपत्र रहेका छन्।

यसैगरी  बागमती प्रदेशमा निर्वाचन हुने चार पदका लागि आठ प्रकारका १७६० मतपत्र र गण्डकी प्रदेशमा निर्वाचन हुने तीन पदका लागि ६ प्रकारका ९०० मतपत्र छपाइ भएका छन् । त्यसैगरी लुम्बिनी प्रदेशमा निर्वाचन हुने दुई पदका लागि चार प्रकारका ७४० मतपत्र, कर्णाली प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ७५० मतपत्र र सुदुरपश्चिम प्रदेशमा निर्वाचन हुने तीन पदका लागि छ प्रकारका ९०० मतपत्रहरु रहेका छन् ।

२०८० फाल्गुन २० गतेदेखि रिक्त हुने १९ राष्ट्रिय सभा सदस्य पदको लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ। मतदान बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म हुनेछ।

 

Your Views
Related News