वीरेन्द्रनगर : हत्या गरेको आरोपमा नेकपा माओवादी केन्द्रकी नेतृ पंचा सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । १५ वर्षअघि हत्या गरिएका कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्यामा संलग्न रहेको आरोप अखिल क्रान्तिकारीका अध्यक्ष समेत रहेकी सिंहसहित ६ जनालाई पक्राउ गर्न जिल्ला अदालत सुर्खेतले पक्राउ पूर्जी जारी गरेको छ । जिल्ला अदालतले प्रहरीलाई शुक्रबार उनीहरुलाई पक्राउ गर्न अनुमति दिएको हो ।

प्रहरीका अनुसार किटानी जाहेरीमा नाम उल्लेख भएका कालिकोटको महावै गाउँपालिका स्थायी ठेगाना भएकी सिंहसहित ‘टाइगर’ भनिने पदमबहादुर रावत, ‘गुराँस’ भनिने बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

यसअघि जिल्ला अदालतबाट २०७९ साउन १३ गते पहिलो पटक पक्राउ पूर्जी प्रहरीले जारी गरेको थियो। तर राजनीतिक संरक्षणका कारण उनीहरु पक्राउ परेनन् । पीडित परिवारले किटानी जाहेरीमा नाम उल्लेख भएका ६ जनाविरुद्ध पक्राउ पूर्जी माग गरे अनुसार पक्राउ गर्न अनुमति पाएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रसिंह थापाले बताए । उनका अनुसार प्रहरीले उनीहरुको घर–ठेगानामा खोजतलासका लागि पत्राचार गरिसकेको छ ।

सुर्खेतको जन माविमा पढ्दै गरेका राजबहादुरको २०६५ फागुन २६ गते बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा खाना खाएर कोठातर्फ जाँदै गरेको बेला खुकुरी प्रहार गरेर हत्या गरिएको थियो । हत्या लगत्तै मृतकका कान्छा बुवा नवराज मल्लले जाहेरी दिएका थिए । जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि खुकुरी प्रहार गरेको उल्लेख छ । उनी नै मुख्य दोषी रहेको दाबी छ । मृतकका बुवा नन्दबहादुर मल्लले छोराको हत्यामा उल्लेखित ६ जनासहित नाम, ठेगाना नखुलेका दैलेखका दुई संलग्न रहेको भन्दै २०७९ साउन १३ गते पूरक जाहेरी दिए । हत्या घटनापछि प्रहरीले ३१ जनालाई अनुसन्धान अधिकृत तोकेपनि अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

मृतकका बुवा नन्दबहादुर मल्लले १५ वर्षदेखि अदालत र प्रहरी कार्यालय धाउँदा पनि न्याय नपाएको दुखेसो पोखे । उनले भने, छोराको हत्या गरेर तत्कालीन माओवादीको छैटौं डिभिजनभित्र लुकेका माओवादीका कार्यकर्ताहरु राजनीतिक संरक्षणकै कारण अझै पक्राउ परेका छैनन् ।

मेरो छोरा मार्नेहरु पक्राउ मात्र परिदिए छोराको आत्माले शान्ति पाउँथ्यौँ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक कृष्ण खड्कालाई घटनाको अनुसन्धान गर्ने अधिकारी तोकेको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआइजी भिमप्रसाद ढकालले १५ वर्षअघिको हत्या घटनाका बारेमा के भएको हो त्यसको जानकारी दिन जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई निर्देशन दिएको जानकारी दिए ।

यता अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पंञ्चा सिंहले १५ बर्षपछि लास माथि राजनीति भएको बताइन् । उनले भनिन्,‘मलाई मुद्दा दर्ता गरेको थाहा नै थिएन । त्यो विद्यार्थीलाई म चिन्दा पनि चिन्दिनँ । विद्यार्थी मरेको भएर शान्तिपूर्ण तरिकाले चुनाव सम्पन्न भएको थियो । बसपार्कमा विद्यार्थी मरेको भन्ने खबर आएपछि म पनि लास व्यवस्थापनका लागि अस्पतालसम्म पुगेकी हुँ । मलाई बेकारमा फसाउनका लागि यो षडयन्त्र भएको हो । त्यति बेला सुर्खेत क्याम्पस शिक्षामा माओवादीको विद्यार्थी संगठनको नेतृत्व कमानसिंह बस्नेतको थियो । म सुर्खेत बहुमुखी क्याम्पसको चुनावी कमाण्डर थिएँ।’

 

Your Views
Related News