काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीबाट एक करोड ८० लाख रुपैयाँ निकालेर आफ्नो खातामा हालेको भन्ने समाचारको ग्लोबल आइएमई बैंकले खण्डन गरेको छ ।

सहकारीको ठगीमा आफ्नो नाम जोडिएपछि रवि लामिछानेले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ग्लोबल आइएमइ बैंकले आफूलाई दिएको पत्र सार्वजनिक गरेका हुन् । उक्त पत्र बैंकले आज रविलाई उपलब्ध गराएको हो ।

पत्रमा लेखिएको छ, ‘उल्लेखित मिति १७-०६-२०२२ मा त्यहाँको यस बैंकमा सञ्चालनमा रहेको खाता नम्बर ‘. मा रु १,८०,००,००० को चेक जम्मा भएको हुँदा सो रकम खातामा क्रेडिट गरिएको तर उक्त चेक इसीसीमार्फत चेक क्लियरिङमा पठाउँदा अपर्याप्त ब्यालेन्सको कारण फिर्ता भएको हुँदा सो रकम खातामा जम्मा नभएको व्यहोरा जानकारी गर्दछौं ।’

पत्रकार सम्मेलनमा पूर्व बैंकर तथा हाल रास्वपा नेता अनिल केशरी साह उपस्थित थिए । उनले पनि यो विषयलाई बैंकिङ प्रक्रियाको हिसाबले प्रष्ट्याएका छन् । साहका अनुसार कसैले चेक लिएर बैंक आयो भने त्यो लिएर रसिद दिइन्छ । तर, खातामा पैसा नभएको खण्डमा पैसा जम्मा हुँदैन ।

उनले रवि लामिछानेको केसमा मात्र नभई यस्ता केस धेरै हुने बताए । उनले भने, ‘कसैले क्यास लिएर आए केही प्रश्न सोधिन्छ । चेकमा प्रश्न सोधिँदैन । टेलर काउन्टरमा गएर चेक जम्मा गर्न सकिन्छ । तर, पैसा खातामा नभएमा त्यो जम्मा हुँदैन र सम्वन्धित व्यक्तिको फोनमा घण्टी पनि बज्दैन ।’ रविले थपे, ‘भोलि मैले १० करोड रुपैयाँको चेक लेखेर कैलाश सिरोहियाको खातामा जम्मा गरिदिएँ तर, मेरो खातामा पैसा छैन भने त्यो सिरोहियाको खातामा जान्छ ? यसरी नै समाचार लेखिन्छ ?’

 

Your Views
Related News