काठमाडौं : कांग्रेसले माघ १३ देखि २६ सम्म समुदायमा कांग्रेस अभियान चलाउने भएको छ । जनताको तीनै तहका सरकारसँगका गुनासा, सुझाव, अपेक्षा सुन्ने उद्देश्यले अभियान चलाउन लागेको कांग्रेसले जनाएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिले यसअघि भदौ १० देखि २४ गतेसम्मका लागि यो कार्यक्रम तय गरेको थियो । त्यतिबेला बर्खाका कारण सबै स्थानमा पुग्न समस्या हुने भन्दै कार्यक्रम सारेको थियो । त्यसपछि कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्मको मिति तोकेको थियो ।

अभियान प्रत्येक प्रदेशमा केन्द्रीय पदाधिकारी, पूर्वपदाधिकारी सँगै पार्टीका अन्य नेताले अभियानको प्रादेशिक समन्वय, अनुगमन र संयोजन गर्ने भएका छन्  । संविधानको भावनाअनुसार समुदायबीचको सद्भाव र सम्बन्ध प्रगाढ बनाउने गरी ‘जनसंवाद र छलफल’ गर्ने तयारी भएको प्रचारविभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

उनले केन्द्रीय सदस्य, प्रत्येक प्रदेशका एक–एक जना उपसभापति र महामन्त्री उक्त अभियानमा रहने जानकारी दिए । प्रदेश सभापतिले सबै अभियानको समन्वय गर्ने कार्यतालिका तय भएको छ । ७७ वटै जिल्लामा अभियानको संयोजन र सहजीकरण गर्न केन्द्रीय प्रतिनिधि रहने कांग्रेसले जारी गरेको परिपत्रमा उल्लेख छ । केन्द्रीय प्रतिनिधिले नै जिल्लाभित्रका सबै स्थानीय तहसँग समन्वय गरी अभियान अवधिभर जिल्लामा रही जिल्लामा हुने सबै कामको इन्चार्जका रूपमा काम गर्नुपर्ने उल्लेख छ ।

 

Your Views
Related News