काठमाडौं : सामुदायिक विद्यालयका छात्राहरुका लागि निशुल्क स्यानिटरी प्याड वितरणमा अनियमितता गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन  प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरीसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी,लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्याम प्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज,सप्तरी दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरी घिमिरेले जानकारी दिए।

गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेकोबारे उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा उनीहरूले स्यानिटरी प्याड खरिद कार्यमा प्रचलित कानुन व्यवस्थापनको पालना समेत नगरी खरिदबिक्री गरेको पाइएको अख्तियारको ठहर छ।

भुक्तानी दिने र लिने कार्य गरे/ गराएको पुष्टि भएको हुँदा अरविन्द कुमार चौधरी,श्याम सुन्दर यादव,श्याम प्रसाद यादव र सुजन दाहाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० खण्ड (ञ) बमोजिमको कसुरमा ८ लाख ७४ हजार तीन रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९१० बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असुल गर्न माग गरिएको अख्तियारले जनाएको छ।

अख्तियारका अनुसार उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँमा खरिद विक्री गरेको पाइएको हो।

लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीलाई मुख्य कसुरदारलाई सरह सजाय गरी बिगोसमेत असुल गर्न माग गरिएको छ।

 

Your Views
Related News