काठमाडौं : संघीय संसद्को तेस्रो अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो ४ बजे बस्ने संसदको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

संघीय सचिवालयका अनुसार यसैगरी बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्। सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउने संसद्का कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।

सम्भावित कार्यसूचीअनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने सम्भावित कार्यसूची छ। बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ।

बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० पेस गर्ने छन्।

संसद्का कार्यवाहक महासचिव पाण्डेयका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काऊ फुकाऊ आदेश सदनमा पेस गर्ने सम्भावित कार्यसूची छ। आज संसदमा शीर्ष नेताले सम्बोधन गर्नेछन्।

 

Your Views
Related News