काठमाडौं : प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिक परिस्थिति जटिल बन्दै गएको ब्रिफिङ गरेका छन्। पार्टीको स्थायी कमिटी बैठकमा उनले जटिल अवस्था सिर्जना भएको बताएका हुन्।

मुख्यतः संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने विषयले अवस्था जटिल बनाएको अध्यक्ष दाहालको आशय रहेको नेताहरूले बताएका छन्। संक्रमणकालीन न्यायलाई सहमतिमै टुंगो लगाउने अडानमा प्रधानमन्त्री दाहाल छन्। यस विषयमा उनले निरन्तर सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलसँग सम्बाद गर्दै आएका छन्।

यस विषयमा गठबन्धन दल सकारात्मक रहे पनि नेकपा एमाले अध्यक्ष केपी ओलीले पीडितमैत्री कानुन बनाएरमात्रै सहमति गर्ने अडान लिएका छन्। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन आफूहरू तयार रहेको तर त्यसका लागि पीडितमैत्री कानुन बन्नुपर्ने जोड एमालेको छ। एमाले अडानकै कारण पनि उक्त संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सोचेजस्तो उपलब्धि हासिल गर्न नसकेको बैठकमा अध्यक्ष दाहालले ब्रिफिङ गरेको स्रोतको भनाइ छ।

पार्टी प्रवक्ता अग्नि सापकोटाले पनि अनेक खालका प्रवृत्तिहरू देखा पर्न थालेको बताए। सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘वर्तमान राजनीतिक परिस्थिति तरल, जटिल र पेचिलो बन्दै गएको छ। मुख्य कानुन बनाउने कुरा त छँदैछ। शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउनुपर्छ भन्ने हो,’ उनले भने।

उनले सत्तापक्ष र प्रमुख प्रतिपक्षसँग टिआरसीलाई टुंग्याउन अधिकतम प्रयास भइरहेको बताए। ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच निरन्तर सम्बाद चलिरहेको छ। सहमतिमै टीआरसी बिल पास हुनुपर्छ भन्ने अध्यक्षज्युले अडान लिनुभएको छ। त्यसको लागि अधिकतम प्रयास भइरहेको छ,’ उनले भने।

माओवादी स्रोतका अनुसार सर्वोच्च अदालतले जनयुद्ध दिवसमा दिइएको सार्वजनिक विदा खारेज गरिदिएको विषयमा अध्यक्ष दाहाल रुष्ट देखिएका थिए। माओवादी जनयुद्धको जोडबलमै नेपालको नयाँ संविधान आएको भन्दै उनले जनयुद्धमा लडेर शहीद भएकाहरूलाई सर्वोच्चको निर्णयले अपमान गरेको बताएका थिए।

त्यस्तै बैठकमा केन्द्रीय समिति बैठक र विधान सम्मेलनका विषयमा छलफल भएको थियो। माओवादीको केन्द्रीय कमिटी भारीभरकम भएको गुनासो आएको भन्दै त्यसलाई छोट्याउने र १५१ सदस्यीय केन्द्रीय समिति बनाउने विषयमा छलफल भइरहेको प्रवक्ता सापकोटाले बताए।

 

Your Views
Related News