नुवाकोट : प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्रमा सुधार आएको दाबी गरेका छन्। उनले सरकारले अर्थतन्त्रलाई लयमा लिएर हिँडिरहेको र केही समयमै सकारात्मक देखिने बताए।

नुवाकोटको विदुरमा आयोजित कार्यक्रममा उनले देशको आर्थिक क्षेत्र चलायमान भइरहेको, बैंकको व्याजदर घटेको र देशको राजश्व १० प्रतिशत वृद्धि भएका कारण देशको अर्थतन्त्र संकटमा नरहेको प्रष्ट पारे। उनले देशमा उत्पादन र स्वरोजगारमुखी क्षेत्रमा जनता उत्प्रेरित भइरहेकोसमेत बताए।

उनले देशमा विदेशी मुद्राको सञ्चिती गत वर्षभन्दा निकै उच्च रहेको बताए। उनले १२-१३ महिनासम्म पुग्ने खर्च सरकारसँग रहेको बताए। उनले पहिलेको भन्दा ३० प्रतिशत रेमिट्यान्स पनि बढेकाले अर्थतन्त्र उकासिएको बताए। ‘अहिले अर्थतन्त्रका सूचक धेरै उत्साहजनक रहेका छन्। विदेशी मुद्राको सञ्चिती तथा पर्यटकको आगमन वृद्धि भएको छ,’ उनले भने।

कित्ताकाट खुलेपछि जग्गाको कारोबार बढेको उनले बताए। उनले जलवायु परिवर्तनले नेपाललाई पारेको असरका सम्बन्धमा वैदेशिक सहयोग आउने क्रममा रहेको र उत्पादन, रोजगारमुखी र जनमुखी कार्यलाई सरकारले प्राथमिकता दिइरहेको बताए।

उनले सरकारले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित गर्ने बताए। उनले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग छलफल गर्ने र सुझाव लिने काम भइरहेको बताए।

उनले नुवाकोटको पासाङल्हामु मार्गको बालाजु-रानीपौवा-पिपलटार, गल्छी-त्रिशुली-रसुवागढी सडकमार्ग तथा सात तले दरबारको पुनःनिर्माणमा सरकारले विशेष सक्रियता दिने बताए। छहरे-टोखा सुरुङमार्ग सरकारको प्राथमिकतामा निर्माण हुने उनको भनाइ छ। सुरुङमार्ग बनेपछि नुवाकोटको परिवर्तन हुने उनले बताए।

 

Your Views
Related News