नुवाकोट : नुवाकोटमा सालक संरक्षणका लागि अभियान सञ्चालन गरिएको छ। पछिल्लो समय बढ्दो चोरी सिकारीका कारण यो जीव संकटमा परेकाले अभियान सुरु गरिएको डिभिजन वन कार्यालय नुवाकोटले जनाएको छ।

नुवाकोटको विदुर, बेलकोटगढी नपाका साथै सूर्यगढी, लिखु, किस्पाङ, तारकेश्वर, म्यागङ, ककनी लगायतका क्षेत्रमा दुर्लभ जीव सालकको बासस्थान रहेको छ।

यसले जमिनभित्र बसेर बालीको उब्जाउ कार्यमा मद्दत पुर्‍याउने भएका कारण यसलाई फाइदाजनक जीव मानिन्छ।   वातावरणीय दृष्टिकोणले पनि किसानलाई  फाइदा हुने भएकाले यसको संरक्षणमा सबै तहका मानिसहरू लाग्नु पर्ने डिभिजन वन कार्यालय नुवाकोटकी प्रमुख रोशना पोखरेलले बताइन्।

अभियान अन्तर्गत डिभिजन वन कार्यालय नुवाकोटले विदुर नगरपालिकाको समन्वयमा त्रिशूलीमा विदुर नगरपालिका स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता गरिएको छ। सालक संरक्षण सम्बन्धी प्रश्नावली रहेको सो प्रतियोगितामा त्रिभुवन त्रिशूली मावि प्रथम, वीरेन्द्र मावि दोस्रो, महेन्द्र मावि तेस्रो र तीनधारे पिपलडाँडा माविले सान्त्वना स्थान हासिल गर्न सफल भएको छ। प्रथम हुनेलाई २ हजार ५००, दोस्रोलाई २ हजार, तेस्रोलाई १ हजार ५०० र सान्त्वना हुनेलाई एक हजार रुपैयाँ प्रदान गरिएको थियो।

 

Your Views
Related News