काठमाडौं : थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालबाट चोरी भएको २६ दिनको बच्चाको उद्धार भएको छ। प्रहरीले शुक्रबार राति साढे ११ बजे काडाँघारीबाट शिशुको उद्धार गरेको जनाएको छ।

बच्चा चोरेको आरोपमा प्रहरीले दैलेखकी मनिषा सिंहलाई पक्राउ गरेको उपत्यका अपराध महाशाखाले जनाएको छ। विवाह गरेको लामो समय भए पनि बच्चा नभएपछि उनले चोरेको प्रहरी समक्ष बयान दिएकी छन्।

प्रहरीले शिशुसहित उनलाई गएराति कोठाबाट नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। लगत्तै बच्चा खोजीका लागि प्रहरी टोली खटिएको हो। अस्पतालको सीसीटिभीको फुटेजको आधारमा प्रहरीले बच्चा चोर्ने व्यक्ति पहिचान गरेको थियो।

प्रहरीका अनुसार काभ्रे घर भएकी एक महिलाको २६ दिनको बच्चा चोरी भएको भन्दै उजुरी दिएकी थिइन्। अस्पतालमा उपचाररत बच्चा केहीबेर लिने भन्दै एक जना महिलाले बच्चा लिएकी थिइन्। बच्चा लिएको केहीबेरमै ती महिला फरार भएकी हुन्। शुक्रबार दिउँसो १२ बजेतिर बच्चा चोरी भएको थियो।

 

Your Views
Related News