मलंगवा : प्रधानमन्त्री पुष्पकमल दाहालले सबै वर्ग, समुदाय, भाषाभाषी, सँस्कृति, पर्व र परम्परालाई एउटै सुत्रमा बाँधेरमात्रै राष्ट्रिय एकता कायम हुनसक्ने बताएका छन्।

सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सबैको अधिकारलाई समानरूपले स्थापित गर्नसक्यो भने देशमा एकता हुनसक्ने बताए। ‘कुनै एक जात विशेष र भाषा विशेषमा मात्रै राज्य चलाउन खोज्नु लोकतन्त्र होइन, त्यो निरङ्कुशतन्त्र हो भन्ने कुरा २५० वर्षले राम्रै प्रमाणित गरिसकेको छ,’ उनले भने।

कार्यक्रममा प्रस्तुत गरिएको सातै प्रदेशको भाषा, सँस्कृति र पहिचान झल्कने नृत्य निकै चाखलाग्दो रहेको प्रधानमन्त्री दाहालले बताए। राष्ट्रव्यापी रूपमा यस्ता कार्यक्रम हुनुपर्नेमा उनले जोड दिए। उनले बागमती नगरले शैक्षिक र साँस्कृति कार्यक्रम गरेर राष्ट्रिय भावना प्रवर्द्धन गर्न जोड दिएको बताउँदै खुसी व्यक्त गरे।

उनले विद्यार्थीलाई विद्यालयकालदेखि नै राष्ट्रप्रेम जगाउने र राष्ट्रिय एकतालाई सुदृढ गर्ने गतिलो सन्देश दिएको बताए। यस्ता कार्यक्रमलाई देशैभरि प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ छ।

कार्यक्रममा सहभागी सामुदायिक विद्यालयका बालबालिकाहरूले प्रत्येक प्रदेशको दुईवटा सँस्कृति झल्किने गीतमा नृत्य गरेका थिए। पछि एकैचोटी ३ हजार विधार्थीले सामूहिक नृत्य गरेका थिए।

 

Your Views
Related News