काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच असमझदारी बढेपछि प्रचण्ड-ओलीबीचको भेटवार्ता बाक्लिएको हो।

उनीहरूबीच राष्ट्रियसभा अध्यक्ष निर्वाचनको विषयमा छलफल भएको बालुवाटार स्रोतले बतायो। ‘प्रधानमन्त्री र केपी शर्मा ओलीबीच राष्ट्रियसभा अध्यक्षको निर्वाचन र संक्रमणकालीन न्यायलाई टुंगोमा लैजाने विषयमा छलफल भएको हो,’ बालुवाटार स्रोतले अन्नपूर्णसँग भन्यो।

हालै सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकमा माओवादीसँगको गठबन्धनलाई लिएर चर्को आलोचना भएको थियो। बैठकमै माओवादीको आलोचना भएपछि प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग संशकित बनेका छन् भने एमालेसँगको भेटघाट बाक्लो बनाएका छन्।

‘राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले नै माओवादीलाई धोका दियो। कोशीमा हाम्रा उम्मेदवार पराजित भए। तर, उल्टै हामीसँगको गठबन्धनविरुद्ध कांग्रेस नेताहरू प्रचारवाजीमा उत्रिनुभएको छ। त्यो अलिक सुहाउँदो छैन,’ माओवादीका एक नेताले भने।

माओवादी-कांग्रेसबीच मनमुटाव सुरू भएपछि सभापति शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री दाहालसँग भेटवार्ता गरेका थिए। सभापति देउवाले महासमिति बैठकमा जे-जस्ता बहस सिर्जना भए पनि वर्तमान गठबन्धनलाई कुनै असर नगर्ने प्रष्टीकरण दिएका थिए।

प्रधानमन्त्री दाहाललाई गठबन्धनसँगै संक्रमणकालीन न्याय (टिआरसी)लाई पनि टुंगोमा पुर्‍याउनुपर्ने चुनौती छ। एमाले अध्यक्ष ओलीले पीडितमैत्री कानुन बनाएमात्रै संक्रमणकालीन न्यायलाई साथ दिने बताइरहेका छन्।

 

Your Views
Related News