काठमाडौं : निर्वाचन आयोगले पूर्वसभामुख सुवास नेम्वाङको निधनपछि रिक्त रहेको इलाम–२ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गराउने निर्णय गरेको छ। आयोगको आइतबार बसेको बैठकले इलाम–२ र बझाङ-१ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा वैशाख १५ मा उपनिर्वाचन गराउने निर्णय गरेको उपसचिव एवम् सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए।

इलाम–२ मा एमालेबाट नेम्वाङ र बझाङ–१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए। नेम्वाङको भदौ २६ गते हृदयघातबाट र सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको हो। आयोगका प्रवक्ता भुसालका अनुसार नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको हो।

‘निर्वाचन आयोगको मिति २०८० फागुन १३ गते बसेको बैठकले नेपाल सरकारसँगको परामर्शमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ बैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ।’ आयोगबाट जारी विज्ञप्तिमा भनिएको छ,‘इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्री सुवासचन्द्र नेम्वाङ्ग र बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रदेश सभा सदस्य श्री पृथ्वी बहादुर सिंहको निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य र धारा १८० को खण्ड (च) बमोजिम सुदूर पश्चिम प्रदेशको प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी सम्बन्धित संघीय संसद सचिवालय र प्रदेश सभा सचिवालयबाट आयोगमा प्राप्त भएको थियो।’

कुनै सदस्यको स्थान, प्रतिनिधि सभा वा प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संवैधानिक व्यवस्था भए बमोजिम उपनिर्वाचनको मिति तोकिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

 

Your Views
Related News