काठमाडौं : अचानक भएको सत्ता गठबन्धन परिवर्तनलाई लिएर माओवादीभित्र सबाल–जवाफ भएको छ। संसदीय दलको शनिबार भएको बैठकमा कतिपय सांसदले अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई नयाँ गठबन्धन र मन्त्री छनोटका मापदण्डबारे कडा–कडा प्रश्न सोधे।

उनीहरूले अचानक पुरानो गठबन्धन छाडेर नयाँमा जानुपर्ने कारण के पर्‍यो ? यसबाट पार्टीलाई दीर्घकालीन लाभ के हुन्छ ? जस्ता प्रश्न गरे। स्रोतका अनुसार दोहोरिएका मन्त्रीका बारे पनि उनीहरूले गम्भीर चासो राखे। ‘नारायणकाजी श्रेष्ठ, रेखा शर्मालगायत किन दोहोरिए ? कतिपय किन दोहोरिएनन् ?’ सांसदहरूले सोधे, ‘मापदण्ड के ? नेतृत्वले जे मन लाग्यो, त्यही गर्न मिल्छ ?’

स्रोतका अनुसार सांसदहरू माधव सापकोटा, सूर्यमान दोङ, अमनलाल मोदी आदिले कडा–कडा प्रश्न सोधेका थिए। प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तन हुनुको कारणबारे उठेका प्रश्नमा ‘कन्भिन्स’ गर्ने प्रयास गरे। माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री दाहालले सरकारको समीकरण परिवर्तनका सम्बन्धमा प्रष्ट पारेका दलका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा प्रतिनिधिसभाको पछिल्लो अवस्थाबारे प्रतिनिधिसभाका मुख्य सचेतक पाण्डे र राष्ट्रियसभाका प्रमुख सचेतक गोपीबहादुर अछामीले बैठकलाई जानकारी गराएका थिए।

त्यसैगरी राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार तथा विश्वासको मतको विषयमा सहभागी सदस्यले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले उम्मेदवारका विषयमा पार्टीको स्थायी समिति बैठकले निर्णय गर्ने र विश्वासको मत कहिले लिने भन्ने विषयमा सहयात्री दलसँग छलफल गरेर निर्णय लिइने जानकारी गराएका थिए।

 

Your Views
Related News