वीरगन्ज : जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले भ्रष्टाचार नियन्त्रणमा सरकारले ठोस कारबाही गर्न नसकेको बताएका छन्। वीरगन्जमा शनिबारदेखि सुरु भई आइतबार सकिएको जनमत पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राउतले देशमा ठूल्ठूला भ्रष्टाचारका काण्ड सार्वजनिक हुँदा पनि ठोस कारबाही हुन नसकेको बताए।

भ्रष्टाचारमा अख्तियारले ठूला माछालाई समाउन नसकेको बताउँदै उनले अख्तियार र निर्वाचन आयोगका प्रमुख, सर्वोच्च अदालतका प्रधानन्यायाधीशसँगै प्रधानमन्त्री पनि जनताबाट प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्न माग गरे। राजनीतिक नियुक्तिका कारण संवैधानिक निकायले कुनै काम गर्न नसकेको राउतले आरोप लगाए।

समाजवादको स्थापनाका लागि पुँजीवादी क्रान्तिको आवश्यक्ता औंल्याउँदै उनले सामाजिक लोकतन्त्रको व्यवस्था गर्नुपर्नेमा जोड दिए। शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यक्ता निशुल्क गर्नसके मात्रै देशको विकास हुने उनको धारणा छ। सिद्धान्त विपरीतका दलहरूबीचको गठबन्धनले देशमा अस्थिरता उब्जिएको बताउँदै उनले स्वार्थका लागि गठबन्धन गर्ने परिपाटीको अन्त्य हुनुपर्नेमा जोडदिए।

सरकारमा जाने अवस्था अहिले नै नभएको भन्दै राउतले आफ्नो पार्टीको मागको सम्बोधन नभएसम्म सरकारमा नजाने अडान जनमतको कायमै रहेको बताए। जनताका लागि काम गर्ने वातावरण भएमा मात्रै आफ्नो दल सरकारमा जाने उनले बताए। जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाएपछिमात्र काम गर्ने वातावरण बन्ने उनको तर्क छ।

पत्रकार सम्मेलनमा जनमत पार्टीका केन्द्रीय सचिव बीपी साह, जनमत पार्टीका प्रवक्ता शरदसिंह यादव, जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफलगायत पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी एवं नेता कार्यकर्ताको उपस्थिति थियो।

 

Your Views
Related News