काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा अंक काटिने भएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा  ०.५ नम्बर काटिने बताएकी हुन्।

उनले बार्गेनिङ गरेको थाहा पाएमा उजुरी गर्न अनुरोध गरेकी छन्।

‘शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’वा बार्गेनिङको गन्ध मात्र पनि थाहा पाउनुभयो भने उजुरी गर्नुहोला: complaints@moest.gov.np।  हामीले अनुसन्धान गरेर तत्काल कारबाही गर्नेछौँ।’ श्रेष्ठको सचिवालयको पेजमा भनिएको छ, ‘कहिँकतै पनि भर्ना गर्न वा छात्रवृत्ति पाउन मेरो वा हाम्रा कर्मचारी साथीहरूको नाम लिएर कोही बार्गेनिङ गर्न आयो भने प्रमाण सहित सिधै मलाई खबर गर्नुहोला। निर्ममतापूर्वक कारबाही हुनेछ। हामीलाई परिणाम चाहिएको छ। प्रचारको पछि हामी लाग्दैनौँ, दुशप्रचारको पछि तपाईँहरू पनि नलागिदिनुहोला। धन्यवाद।’

रास्वपाको आइतबार बिहान बसेको बैठकले सरूवा, बढूवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्यता समेत खारेजसम्म गर्न सकिने निर्णय गरेको छ। बैठकमा समावेशीतालाई मध्यनजर गरि मेरिटोक्रेसीका आधारमा नियुक्ति अघि बढाउने र राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गर्ने निर्णय भएको महामन्त्री डा. मुकुल ढकालले जानकारी दिए।

नवगठित मन्त्रिपरिषदमा सभापति रवि लामिछाने उपप्रधानमन्त्रीसहित गृह मन्त्री, उपसभापति डोलप्रसाद अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री बनेका छन्।

 

Your Views
Related News