काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने नेपाली कांग्रेस पनि दूधले नुहाएको पार्टी नभएको दाबी गरेका छन्। उनले एउटा ठाडो उजुरीको आधारमा संसद अवरुद्ध गर्नु राम्रो संसदीय अभ्यास नभएको बताए।

‘कांग्रेसले माग गरेको कुरामा मेरो सम्मान छ। हामी त्यसको जवाफ काम गरेर देखाउन चाहन्छौं,’ संसद भवनमा सञ्चारकर्मीसँग उनले भने, ‘तर, जुनरूपमा उहाँहरूले संसद अवरुद्ध गर्नुभएको छ।

एउटा पूरक उजुरीमा संसद अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजिएको छ भने कांग्रेस दूधले नुहाएको पार्टी हो कि होइन नेपाली जनताले बुझेका छन्।’ उनले अनुसन्धानलाई प्रभावित गर्नेगरी कांग्रेसले कुर्सीका मान्छे हटाएको आरोपसमेत लगाए। ‘अनि कांग्रेसले नैतिकताको कुरा गर्ने? सुशासनका कुरा गर्ने?,’ लामिछानेले प्रश्न गरे।

गृहमन्त्री लामिछानेले लामो राजनीतिक इतिहास भएका कांग्रेस नेताहरूलाई आफ्नो मागमा अडिग रहन आग्रहसमेत गरे। ‘लामो राजनीतिक इतिहास बोकेका साथीहरूले ठाडो उजुरीलाई लिएर संसद अवरुद्ध गर्ने, राजीनामा माग्ने हो भने आफ्नो मागमा अडिग रहन आग्रह गर्छु। हामी कामले जवाफ दिने हो,’ उनले भने।

लामिछानले कांग्रेसलाई चार वर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिँदै सो अवधिमा आफूहरूको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए। उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको विषय संसदको अधिकारको कुरा भएको बताए।

 

Your Views
Related News