काठमाडौं : बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको बनाएको प्रकणमा मुछिएका नेपाली कांग्रेसका सांसद विनोद चौधरीले आफूमाथि राजनीतिकरण गरिएको आरोप लगाएका छन्।

सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई बयान दिएपछि पत्रकारसँग कुरा गर्दै उनले ४२ वर्षअघि बाँसबारीको अनकन्टार ठाउँको कौडीको भाउमा नबिक्ने जग्गालाई आधार बनाइ आफूमाथि राजनीतिकरण गरिएको दावी गरे।

उनले ‘राजनीतिक स्टन्ट’ गर्नेहरूलाई आफूले चरित्रको प्रमाणपत्र देखाइरहनु नपर्ने उल्लेख गरे।  सांसद चौधरीले सीआईबीबाट मौखिक जानकारी आएपछि  जिम्मेवार राजनीतिकर्मीको हिसाबले सहयोग गर्न  आफू आएको स्पष्ट पारे।

‘ममाथि अनुसन्धानको बारेमा संसदलाई जानकारी गराएको पत्र जुनरुपले सञ्चारामाध्यममा रंगिए,त्यसबाट यो स्टन्ट के उद्देश्यका लागि गरिएको हो भन्ने प्रष्ट भएको छ। हालकी मैले यो विषयमा प्रश्न उठ्ने वित्तिकै दल बैठकमा आफ्नो संक्षिप्त कुरा राखेँ। त्यसपछि ममाथिको अनुसन्धानको कुरा चल्ने वित्तिकै संसदको रोस्टममा उभिएर निर्वाचित सांसदको हैसियतले आफ्ना कुरा राखेँ। मलाई आज यहाँ आउन मौखिक जानकारी गराइयो। म एउटा जिम्मेवारी राजनीतिकर्मीको हिसाबबाट सहयोग गर्न उपस्थित भएको हुँ। ४२ वर्ष अगाडी बाँसवारीजस्तो अनकन्टार। ठाउँको कौडीको पनि भाउमा पनि नबिक्ने जग्गालाई आधार बनाइ त्यो बेलामा पब्लिक प्राइभेट पार्टरसीपको उत्कृष्ट स्वरुपका रुपमा खडा गरिएको नविनतम सोचलाई राजनीतिकर गरियो त्यो अन्त्यन्त दुखलाग्दो छ । ४५ वर्षको यात्रापछि मैले आफ्नो चरित्रको सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन। त्यो पनि खास गरिकन स्टन्ट गर्नेहरूलाई। म फेरि पनि यस्ता गतिविधिबाट निजी क्षेत्र उद्यमी लगानीकर्तालाई विशुद्ध राखिनुपर्छ भन्न चाहन्छु। तर राजनीतिकका आफ्ना फोरम छन्। म पनि नवलपरासीबाट प्रत्यक्ष निर्वाचित सांसद हुँ। तर दुई चिजलाई जोड्ने काम मैले गरेको छैन र भैलि पनि गर्नेछैन।’

सीआईबीले बाँसबारी सरकारी जग्गा किर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको सभामुख देवराज  घिमिरेलाई जानकारी गराएको थियो।

यसअघि उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिएको  थियो। यो प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले विनोदका भाइ बसन्त चौधरीलगायत अन्यको बयान लिइसकेको छ।

सोही प्रकरणमा अरुण चौधरी,अजितनारायणसिंह थापा र सञ्जय ठाकुरलाई पक्राउगरी अनुसन्धान सुरू गरेको थियो। जिल्ला अदालत काठमाडौंले उनीहरूलाई हाजिरी जमानीमा छोडेको  थियो।

 

Your Views
Related News