काठमाडौं : सरकारले बाँसबारी छालाजुत्ता कारखानाअन्तर्गत च्याम्पियन फुटवेयर लिमिटेडको  नाममा दर्ता भएको १० रोपनी जग्गा फिर्ता लिएको छ। च्याम्पियन फुटवेयर लिमिटेडको नाममा रहेको दुई कित्ता जग्गालाई मालपोत ऐन, २०३४ को दफा २४ बमोजिम भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारको २०८० चैत ९ को निर्णयले नेपाल सरकारको नाममा कायम गरिएको  हो। भूमि व्यवस्थामन्त्री बलराम अधिकारीले जुत्ता कारखानाको जग्गा मालपोत ऐन, २०३४ को अनुसार सरकारका नाममा ल्याइएको जानकारी दिए।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी अध्यक्ष अजित नारायण सिंह थापा समेतको मिलेमतोमा सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दाको अनुसन्धान गरेको थियो। अनुसन्धानका क्रममा तत्कालीन श्री ५ को सरकारले जग्गा प्राप्ति ऐन, २०१८ बमोजिम नेपाल गजेटमा सूचना प्रकाशित गरी सरोकारवालाहरूलाई मुआब्जा दिई रितपूर्वक अधिग्रहण गरेको सरकारी जग्गा तत्कालीन श्री ५ को सरकारको निर्णयबिना बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको तत्कालिन सञ्चालक समिति र कार्यकारी अध्यक्ष थापाले आफूसँग हुँदै नभएको अधिकारको प्रयोग गरी १० रोपनी जग्गा च्याम्पियन फुटवेयरलाई दिएका थिए।

२०५४ साउन १२ मा च्याम्पियन फुटवेयर लिमिटेडमा रहेको बाँसबारी छालाजुत्ता कारखाना लिमिटेडको सेयर खरिदपछि उक्त कम्पनीलाई प्राइभेट लिमिटेड बनाउने प्रक्रिया सुरु भयो। बासँबारी छालाजुत्ता कारखानाको २५ प्रतिशत सेयर २०५४ साउन १२ मा अरुण चौधरीको नाममा आयो। त्यसबेलादेखि प्राइभेट कम्पनीमा परिणत गरिएको देखिन्छ। २०५४ पुस ४ मा सरकारी स्वामित्वको च्याम्पियन फुटवेयर लिमिटेड अरुणकुमार चौधरी र शिला चौधरीको नाममा प्राइभेट लिमिटेडमा दर्ता भएको थियो।

त्यसप्रति च्याम्पियन फुटवेयर लिमिटेडको नाम परिवर्तन गरेर सीजी चाँदबाग रेजिडेन्सी प्रालि बनाइएको हो। च्याम्पियन फुटवेयर प्रालि र चाँदबाग रेसिडेन्सीको दर्ता नम्बर एउटै  ७८१९ छ।  चाँदबाग रेसिडेन्सीमा अरुणकुमार चौधरी, शिला चौधरी, आम्रपालिका अध्यक्ष सञ्जय ठाकुर सञ्चालक छन्। यो जग्गा २०६६ साल कात्तिक २५ गते डिल्लीबजार मालपोत कार्यालयद्वारा हालसाविक भएको छ। २०६६ कात्तिक २४ को हालसाविक निर्णयले साविक नगर २२ (छ) कि.नं. ४२० हालसाविक भै हाल नगर ३ सिट नं १०२०९४७१६ कि.नं. ५८ क्षे.फ. ४६०७.२० र साविक नगर २२(छ) कि.नं. ४२९ हालसाविक भै हाल नगर ३ सिट नं १०२०९४७२१ कि.नं. १६ क्षे.फ. ४८७ ब.मी. कायम भएको गरिएको थियो। यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले सीजी होल्डिङका प्रबन्ध निर्देशक अरुण चौधरी र  छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजित नारायणसिंह थापा र चाँदबाग रेसिडेन्सी प्रालिका वर्तमान अध्यक्ष सञ्जय ठाकुर पक्राउ गरेको थियो।

 

Your Views
Related News