काठमाडौं : नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको पुरस्कार नपाएको गुनासो गरेका छन् । बिहीबार बिहान एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा उनले घोषणा गरेको आधा पुरस्कार अझै पाउन बाँकी रहेको जानकारी गराएका हुन्।

कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम लामो समय हुँदा पनि नपाएको गुनासो गरे। ‘सरकारले चाहिँ  हामी सबैलाई रिवार्डको रुपमा घोषणा गरेको रकमको ५०/६० प्रतिशत रकम मात्रै अहिलेसम्म पाएका छौं। टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म पनि उहाँहरूले भुक्तानी गर्नुभएको छैन, हामीले चाँडै प्राप्त हुने विश्वास गरेका छौं।’

पौडेलले क्रिकेट खेलाडीका लागि घोषणा गरेको पुरस्कारबापतको रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे। उनले एसीसी प्रिमियर कपको महत्त्व बुझेको बताए।

जवाफमा युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीलाई दिने भनेको रकम छिट्टै निकासा गराउने प्रतिबद्धता जनाए।

 

Your Views
Related News