काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछनेमाथि सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ। आइतबार बैठक सुरू हुनेवित्तकै कांग्रेस सांसदहरूले गृहमन्त्रीमाथि अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा अवरोध जनाएको छ।

कांग्रेस सांसदहरू आ-आफ्नो सिटबाट उठेर अवरोध जनाएपछि सभामुख देवराज घिमिरेले सांसद संजयकुमार गौतमलाई समय दिए। सांसद गौतमले गृहमन्त्री लामिछानेमाथि नैतिक र कानुनी प्रश्न उठिसकेकाले उनीमाथि छानबिन हुनुपर्नेमा जोड दिए।

‘हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसदको ध्यानाकर्षण गराउन चाहन्छु। सरकार यो प्रति गम्भीर बनोस्। संसदीय छानबिन समिति बनाइयोस्। यो कुरालाई चाँडोभन्दा चाँडो निष्कर्षमा पुगोस्। होइन भने यो मु्द्दा बारम्बार उठाइरहनेछौं। हामी चाहदैनौं कि संसद अवरुद्ध गरौं। बाध्य भयौं भने पनि त्यो ठाउँमा पुग्नसक्छौं,’उनले भने।

नेता गौतमले लामिछानेका विषयमा प्रधानमन्त्री र प्रहरी प्रमुखहरुले दिएको जवाफले झनै संशय भएको दावी गरे।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा कुनै पनि सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नता नरहेको जवाफ दिएका थिए भने प्रहरी महानिरीक्षक वषन्त कुँवरले  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पोखरास्थित सूर्यदर्शन सहकारीको ठगीमा लामिछानेको संलग्नता नरहेको बताएका थिए।

प्रधानमन्त्री प्रचण्ड नै गृहमन्त्रीको बचाउँमा लागेको उनको आरोप छ।  गृहमन्त्री लामिछानेमाथि सहकारी ठगीको आरोप छ। उनीविरुद्ध उजुरी परेपनि छानबिन नभएको सहकारी पीडित पक्षको आरोप छ।

सहकारी ठगी प्रकरणमा लामिछानेमाथि अनुसन्धान गर्न संसदीय समिति माग गर्दै कांग्रेसले संसदमा अवरोध जनाउँदै आएको छ।

 

Your Views
Related News