सिन्धुली : सिन्धुलीको मरिण गाउँपालिकाले पनि पालिकाअन्तर्गत रहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको छ।

सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले पालिका अन्तर्गत रहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई आगामी शैक्षिक सत्र २०८१ बाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठन गराउन निर्देशन गरेको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीका अनुसार गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति र हिउँदे गाउँ सभाको निर्णय अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरकारी कोषबाट सेवा सुविधा उपभोग गर्ने गाउँपालिका सरहद भित्र बस्ने घरपरिवारले आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने छ।

पालिकाले सामुदायिक विद्यालयमा सबै नागरिकको समान पहुँच र अर्थपूर्ण सहभागिता गराउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरका लागि भन्दै यस्तो निर्णय गरेको हो। जिल्ला यस अघि कमलामाई नगरपालिकाले पनि आगामी शैक्षिक सत्रबाट पालिका अन्तर्गत रहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको छ।

नगरपालिकाका मेयर उपेन्द्र पोखरेलले आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा नपढाए कारबाही गरिने चेतावनी समेत दिएका छन्। पालिकाहरूको निर्णयसँगै अभिभावकहरूमा अन्यौलता छाएको छ।

 

Your Views
Related News