काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सदनमा उठेका विषयहरूको जवाफ सदनमै उभिएर  दिन पाउनुपर्ने बताएका छन्। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानले सहकारी लगायतका विषयमा सदनमा उठेका प्रश्नको जवाफ सदनमा दिने अवसर पाउनुपर्ने बताएका हु्न् ।

लोकतन्त्रमा प्रतिपक्षीले आफूलाई लागेका कुराहरू सदनमा उठाउन पाउनुपर्ने विषयलाई आफूले सम्मान गर्ने भन्दै उनले आफूले पनि सदनमा नै त्यसको जवाफ दिने अवसर पाउनुपर्ने बताए । लामिछानले गृहमन्त्रालयको काम कारवाही,बिपत व्यवस्थापनको तयारी,भूकम्पपीडितको पुर्नवासलगायतका विषयमा समेत आफूले जवाफ दिन चाहिरहेको जिकिर गरे। उनले जाहेरी दिँदैमा सदनमा सबै विषयमा छानविन गर्न संसदीय समितिको आवश्यक नरहेको धारणा राखे।

रास्वपा सभापति समेत रहेका लामिछानेले पार्टीका अन्य नेताहरूको पनि सहकारी प्रकरणमा नाम जोडिएको विषयमा प्रचारबाजी मात्रै भएको तर्क गरे। कसैमाथि प्रश्न उठ्दैमा आतिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

आजै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले संसद बैठकमा सहकारी प्रकरणमा गृहमन्त्रीसँगै रास्वपाका उपसभापति समेत रहेका श्रममन्त्री डीपी अर्याल र सहमहामन्त्री कविन्द्र बुर्लाकोटीको नाम आएको भन्दै उनीहरूमाथि छानबिन हुनुपर्ने माग गरेका थिए।

 

Your Views
Related News