काठमाडौं : नेपाली कांग्रेसले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम क्षेत्र नम्बर २ मा डम्बरबहादुर खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

बिहीबार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले इलाम क्षेत्र नम्बर २ का लागि कांग्रेस इलामका सभापति खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

त्यस्तै बैठकले बझाङको प्रदेशसभा उपनिर्वाचनका लागि अभिषेक बहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए। सिंह कांग्रेस दिवंगत सांसद पृथ्वीबहादुर सिंहका छोरा हुन्। सुदूरपश्चिम प्रदेश सरकारका कानुनमन्त्री रहेका सिंहको गत असार पाँच गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

यसअघि बिहीबार नै बसेको संसदीय बोर्ड बैठकले खड्का र सिंहलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो। प्रचार विभाग प्रमुख विश्वकर्माले निर्वाचनमा पार्टीले जित्नको लागि सबैको सहयोग आह्वान गरिने र परिस्थिति निर्माण भए सहकार्यको वातावरण बन्न सक्ने बताए।

इलामका उम्मेदवार खड्का २०७९ को चुनावमा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने तालिका छ।

 

Your Views
Related News