काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा गरिएका प्रतिबद्धता योजनाबद्धरूपमा कार्यान्वयन भइरहेको बताएका छन्।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित समितिलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संसद्मा सरकारले लिएको मार्गचित्रअनुरूप सुशासन, सामाजिक न्याय र समृद्धिका क्षेत्रमा प्राथमिकताका साथ काम भइरहेको बताए।

सार्वजनिक सेवा प्रवाहमा सुधारका सम्बन्धमा लाइनमुक्त देश बनाउने संकल्प अनुरूप विभिन्न सेवाप्रवाहका प्रणालीहरूबीच अन्तरआबद्धता, जनशक्ति व्यवस्थापन, सेवा विस्तारका क्षेत्रमा गरिएका सुधारले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नो अब्जेक्सन लेटरलगायतका सेवा लिन सहज भएको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘संसद्मा व्यक्त प्रतिबद्धता अनुरूप रसायनिक मलको आपूर्ति सुनिश्चित गरी वितरण प्रणालीमा सुधार गरिएको छ।’

गत शैक्षिक वर्षदेखि इतिहासमै पहिलोपटक विद्यार्थीले भर्नासँगै पाठ्यपुस्तक पाएका र यस वर्ष पनि समयमा नै सबै जिल्लामा पाठ्यपुस्तक पुर्‍याउने कार्य प्रारम्भ भइसकेको जानकारी दिँदै प्रधानमन्त्री दाहालले उखु किसानको बक्यौता रकम भुक्तानी गरिएको र  दुग्ध किसानको बाँकी रकम भुक्तानी दिने कार्य सुरु भइसकेको बताए।

सेवा प्रवाहमा नागरिकको गुनासालाई प्रभावकारीरूपमा सम्बोधन गर्न हेलो सरकारलाई २४ सै घण्टा सञ्चालनमा ल्याइएको बताउँदै प्रधानमन्त्री दाहालले सरल र सहज सार्वजनिक सेवाको प्रत्याभूतिका लागि सरकारी सेवामा ‘टाइम कार्ड’ अभ्यासमा ल्याइएको र यसलाई सबै जिल्लामा क्रमशः विस्तार गरिँदै लगिएको बताए।

विकास आयोजनाहरूलाई समयमा नै सम्पन गर्न आवश्यक सहजीकरण गर्दै स्थलगत र ‘भर्चुअल’ अनुगमन संयन्त्रको विकास र अभ्यास भइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले कार्यसम्पन्न भइसकेका निर्माण कार्यहरूको भुक्तानी दिने कार्य भइरहेको बताए। ‘नागरिकलाई ६ महिनाभित्रै नागरिकताको सुनिश्चितता गर्ने प्रतिबद्धता कार्यान्वयन भएको छ। विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्थाका लागि मस्यौदा तर्जुमा भएको छ,’ उनले भने।

सुधार आफैंबाट सुरु गर्नुपर्छ भन्ने मान्यताका साथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उत्कृष्ट निकायकारूपमा विकास गर्ने प्रतिबद्धता कार्यान्वयनमा आएको उल्लेख गर्दै प्रधानमन्त्रीले तदनुरूप सङ्गठन पुनःसंरचना गरी दरबन्दी कटौती गरिएको बताए।

सुशासन सरकारको पहिलो प्राथमिकतामा रहेको कुरा आफूले सम्मानित सदनमा व्यक्त गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरूद्ध शून्य सहनशीलताको नीति सरकारले लिएको बताए। ‘यो अवधिमा भुटानी शरणार्थी, सुन तस्करी, ललिता निवास, बाँसबारी जग्गा प्रकरणलगायतका विषयहरूमा सरकारले गम्भीर अनुसन्धान अगाडि बढाएको र नतिजासमेत देखिने क्रममा छ,’ उनले भने।

शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउने विषयमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्मानित संसदमा दर्ता भएको अवगत गराउँदै प्रधानमन्त्री दाहालले विपद् व्यवस्थापनसँग सम्बन्धित सरकारले गरेका प्रतिबद्धताहरू पूरा हुने क्रममा रहेको उल्लेख गरे।

 

Your Views
Related News