काठमाडौं : नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन हुनुपर्ने निर्णय गरेको छ। मंगलबार बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकपछि कांग्रेस प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछाने सहकारीको रकम अपचलन गर्ने काममा संलग्न भएको निष्कर्ष निकालेको जानकारी दिए।

प्रमुख सचेतक लेखकले आफूहरुले प्रधानमन्त्रीको कुरा सुनिसकेकाले संसदीय छानबिन समिति गठन नगरेसम्म गृहमन्त्री लामिछानेको कुरा नसुन्ने स्पष्ट पारे।

उनले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय अनुसन्धानका निमित्त संसदीय छानबिन समिति गठन हुनुपर्ने कांग्रेसको मागलाई संसदीय दलले उचित छ भन्ने ठहर गरेको जानकारी गराए। उनले मंगलबारको बैठकले तत्काल आफूहरुको माग बमोजिम संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय समेत गरेको बताए।

प्रमुख सचेतक लेखकले कांग्रेसले संसद अवरोध नचाहने बताउँदै यदि कांग्रेसले उठाएको मागप्रति सरकार गैरजिम्मेवारपूर्ण ढंगले प्रस्तुत भएमा कुनै पनि संसदको बैठक अथवा संसदका कामकारबाही अवरुद्ध हुने कुराको जिम्मा अहिलेको सरकारले लिनुपर्छ भन्ने पनि दलले सर्वसम्मत निर्णय गरेको  बताए।

त्यस्तै कांग्रेसले संसदीय समितिका बैठकहरुमा अनिवार्य रुपले उपस्थित भएर छलफलमा भाग लिन आफ्नो पार्टीका संसदहरुलाई निर्देशन समेत दिएको छ। साथै हालै धार्मिक विषयलाई लिएर सुनसरीमा झडप भएकाले त्यसले समाजमा जटिलता उत्पन्न भएको भन्दै कांग्रेसले सामाजिक सदभाव,धार्मिक सहिष्णुता र एकता कायम राख्न सबैलाई आह्वान समेत गरेको छ।

 

Your Views
Related News