काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले २०४७ सालपछि सबै प्रकरणको छानबिन गर्न माग गरेको छ। मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले आफ्नो विषयमा मात्रै नभई २०४७ साल पछिका सबै प्रकरणको छानबिन गर्नका लागि स्वतन्त्र छानबिन समिति गठन गर्न प्रस्ताव गरेको बताए।

गृहमन्त्री लामिछानेले कांग्रेसले आफ्नो कुरा राख्नु स्वभाविक भएको भन्दै रास्वपाले पनि सबै प्रकरणको छानविन गर्न सुझाव दिएको बताए। उनले भ्रष्टाचार नियन्त्रणका लागि सबै दलहरू गम्भीर भएर बृहत् स्वतन्त्र छानबिन गठन गर्न सबै तयार हुनुपर्ने बताए।

कुनै व्यक्तिमाथि ठाडो उजुरीका आधारमा समिति बनाउनुपर्ने गरी संसदीय गरिमा तल झरिनसकेको उनको भनाइ छ।

त्यस्तै रास्वपा सांसद डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई बोल्न नदिएर निषेधको राजनीतिको अभ्यास भएको आरोप लगाए। सत्ता बहिर्गमनको पीडाले विक्षिप्त भएकाले कांग्रेसले प्रतिशोधको राजनीतिक गरेको उनले बताए।

उनले संसदीय छानविन समितिको विरोध नगरेको भन्दै ४७ साल पछिका बालुवाटारदेखि अन्य सबै कान्डको छानबिन गर्न उच्चस्तरीय स्वतन्त्र छानबिन समिति गठन गर्नुपर्ने रास्वपाको माग रहेको बताए।

 

Your Views
Related News