काठमाडौं । रुसी सेनाको पोशाकमा उभिएका श्रीमान्‌को फोटो हेरेर एकतमास टोलाइरहिन्छन्, बाग्लुङकी गीता घर्ती मगर । ह्वाट्एपमा श्रीमान भएको अन्तिम संवाद सम्झिन्छिन् र आश गर्छिन्, ‘युद्ध मैदानमा फस्नु भएको होला छिट्टै खबर आउला ।’

आखिर श्रीमान्‌ले पनि यसै भनेका थिए, ‘युद्धमा क्षेत्रमा जाँदैछु, फोन लाग्दैन । फर्किन कति समय लाग्छ, थाहा छैन, नआत्तिनू ।’

तर श्रीमान सम्पर्कमा नआएको ५ महिना भइसकेपछि भने उनी अत्तालिएकी छन् । ‘युद्धमा जान्छु जानु भएर सम्पर्कबाट हराउनु भयो’ उनले अनलाइनखबरसँग टेलिफोनमा भनिन्, ‘यतिका समय हुँदा पनि कुनै खबर नआउँदा मन पोलिरन्छ ।’

तैपनि खबर आइहाल्छ कि भनेर पर्खिबसेकी छन् उनी ।

३ कात्तिक मा उनका श्रीमान् रुसी सेनामा भर्ना हुन भनेर घरदेखि निस्केका थिए । रुस पुगेर रुसी सेनामा भर्ना भएपछि पनि सम्पर्कमै थिए । रुस–युक्रेन युद्धबारे श्रीमतीलाईसबै कुरा फोनमा भनिरहन्थे । ‘त्यहाँ पुगेको एक महिनासम्म कुरा रह्यो’ उनले भनिन्, ‘युद्ध लड्न जानु पर्नेभयो भनेर पछि उहाँ हराउनु भयो ।’

१३ मंसिरमा भएको अन्तिम कुराकानीमा कोपिलले युद्धमा जान लागेको बताएका थिए । ‘युद्धमा जाँदैछु सम्पर्क हुँदैन भनेर खबर पठाउनु भएको थियो’ उनले भनिन्, ‘त्यसपछि उहाँ सम्पर्कमा नै आउनु भएन ।’

अहिले उनका घरमा तीन साना बच्चा छन् । रुसबाट अप्रिय खबरहरु आइरहेका छन् । रुसी सेनामा भर्ना भएका नेपालीको मृत्यु भएका खबरले उनका मनमा सियो रोपे जस्तो हुन्छ ।

‘श्रीमान् सम्पर्कमा नआउँदा मन आत्तिएको आत्तिया’छ’ उनले भने, ‘सम्पर्क टुटेकै दिनदेखि निदाउन सकेकी छैन । परदेशमा हराएकाले म खोज्न जान पनि सक्दिनँ ।’

उनी अहिले एकोहोरो मोबाइल हेर्दै खबर श्रीमान्‌को पर्खिरहेकी हुन्छन् ।

०००

पूर्वी नवलपरासीका शलिना दर्लामीले पनि श्रीमान्‌को खबरको पखाईमा बसेको ५ महिना भइसक्यो । रुसी सेनामा गएका श्रीमान् नरबहादुर दर्लामी सम्पर्कविहीन भएदेखि उनलाई मन बेचैन छ ।

दशैंको अघिल्लो दिनमात्र ५ कात्तिकमा उनका श्रीमान् रुस गएका थिए । ‘एजेन्टले युद्ध छैन भन्दै झुक्यायो’ उनले भनिन्, ‘त्यहाँ पुगेपछि सिधै युद्ध लड्न पठायो ।’

मंसिरको दोस्रो सातादेखि युक्रेनको युद्धमा भूमिमा गएदेखि नै सम्पर्कविहीन भए उनी ।

उनले श्रीमान्‌को खबर पत्ता लगाउन अनेक प्रयास गरिन् । श्रीमानसँग भएका साथीहरुलाई सम्पर्क गर्न खोजिन् । ‘उहाँहरु सबै सम्पर्कविहीन हुनु भएको छ, ‘यहाँबाट हामीले गर्न सक्ने केही छैन, सरकारले पनि उहाँको खोजी गरिदिएको छैन ।’

सम्पर्कविहीन भएका श्रीमान्को फोटो र पासपोर्ट बोकेर रुस राजदूतावासदेखि परराष्ट्र मन्त्रालयसम्म धाइन् । मन्त्री र नेतालाई श्रीमान्‌को खबर पत्ता लगाइदिन भनेर पटक पटक भेट्न गइन् । तर कुनै पत्तो लाग्न सकेको छैन ।

भन्छिन्, ‘श्रीमान् खोज्दै जताकतै धाइराछु, अहिलेसम्म सरकारले हाम्रो कुरा सुनेको छैन ।’

लामो समयदेखि श्रीमान् हराइरहँदा विक्षप्त छिन् । बेला–बेला मोबाइल हेर्दै झस्किरहन्छिन् । ‘श्रीमान्‌को खबरले आयो कि भनेर राति पनि व्यूँझेर मोबाइल हेर्छु’ उनले सुनाइन् ।

०००

विदुर नगरपालिका, नुवाकोटकी चिनीमाया थाकोरको पनि श्रीमान् विजय थकोरसँग १३ मंसिरदेखि कुरा हुन सकेको छैन ।

चिनीमायाका अनुसार रुसी सेनामा भर्ना भएका विजयको ह्टवाएपमा अनलाइन देखाइरहन्छ । तर यताबाट निरन्तर कल/म्यासेज गर्दा पनि कुनै रिप्लाई आएको छैन ।

अनलाइन देखाएको भरमा उनले चित्त बुझाउन कोशिस गरिरहेकी छन्, मनमा कत्ति पनि शान्ति छैन । ‘अनलाइन देखाए पनि कुरा नभएको मंसिरदेखि नै हो’ उनले भने, ‘एक पटक बोल्देको भए पनि मन बुझाउन त हुन्थ्यो नि ।’

यसअघि पनि एक पटक उनका श्रीमान् युद्धमा गएर फर्केका थिए । त्यो बेला केही समय सम्पर्कविहीन भएका थिए । यस पटक भने लामो समय भइसक्दा पनि कुनै खबर छैन । ‘अहिलेसम्म कुनै खबर त आएको छैन, तर सकुशल हुनुहुन्छ होला भन्ने लागिरन्छ’ उनले भनिन्, ‘नभए किन पो अनलाइन देखाउँथ्यो होला र ?’

३०० नेपाली सम्पर्क बाहिर

२४ फेब्रअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि सुरु भएको पछिल्लो युद्धका क्रममा ठूलो संख्यामा दुवै देशका सैनिक मारिएका छन् ।

युद्धका क्रममा रुसले आफ्नो सैनिकसँगै निजी सैनिक कम्पनी वाग्नर, रेडुट लगायतको फौजलाई प्रयोग गरेको छ । रुसले अहिलेसम्म आधिकारिक रुपमा आफ्नो कति सैनिक मारिए भनेर बताएको छैन । बीबीसी न्यूज रुसले १ लाख २३ हजारभन्दा बढी रुसी सैनिक युद्धका क्रममा मारिएको अनुमान गरेको छ ।

रुसी सेनामा भर्ना भएका १७ जना नेपालीको मृत्यु भएको नेपाल सरकारले नै पुष्टि गरेको छ । यद्यपि मृतकको संख्या यो भन्दा धेरै बढी रहेको पीडितहरु बताउँछन् ।

रुसी सेनामा गएर मृत्यु भएका वा सम्पर्कविहीन भएकाहरुको खबर कन्सुलर सेवा विभागले लिइरहेको छ । विभागमा झण्डै चार सय जनाको परिवारले निवेदन दिएका छन् ।

रुसी सेनामा भर्ना भएकाहरको परिवारलाई एकीकृत गरिरहेको ‘रूसी सेनामा आवद्ध नेपालीको जीवनरक्षार्थ अभियान’सँग अहिलेसम्म दुई हजार बढी परिवार सम्पर्कमा आएका छन् । जसमध्ये साढे ६ सय जनाको नाम सहितको विवरण नै तयार गरिएको अभियानकी अभियन्ता कृतु भण्डारीले बताइन् ।

उनीहरुमध्ये करिब ३०० नेपाली सम्पर्कविहीन छन् । ‘लामो रुसी सेनामा भर्ना भएर ५/६ महिनादेखि हराइरहेको मात्रै तीन सय परिवार जोडिनु भएको छ’ भण्डारीले भनिन्, ‘परिवारलाई स्रोत मानेर रुसमा गएर हराइरहेका र मृत्यु भएकाहरुको रेर्कड नै राखेका छौं । यो संख्या अझै थपिरहेको छ ।’

परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले भने रुस सेनामा भर्ना भएका विषयलाई सम्बोधन गर्न कूटनीतिक प्रयास जारी रहेको बताए ।

उनले रुसी सेनाका मृतकको शव फिर्ता, सम्पर्कविहीनका भएका खोजी, घाइतेको उपचार, रुसमा रहेकाहरुलाई फिर्ता ल्याउने सवालमा सैद्धान्तिक छलफल भइरहेको बताए । ‘यो संख्या कति छ भन्न सकिने अवस्था छैन’ श्रेष्ठले भने ‘सम्बोधनका लागि प्रयत्न गरिरहेका छौं, तर ठोस कुरा आउन सकेका छैन ।’

उनले रुसमा फसेका नेपालीहरुको हकमा करार सम्झौता रद्द गरेर नेपाल फर्काउने विषयमा सैद्धान्तिक रुपमा छलफल पनि भइरहेको बताए ।

 

Your Views
Related News