इलाम : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ को विकासको जिम्मा आफूले लिने बताएका छन्। उनले आफ्ना उम्मेदवार सुहाङ नेम्वाङलाई विजयी गराए त्यस क्षेत्रको  विकासको जिम्मा आफूले लिने वाचा गरेका हुन्।

वैशाख १५ गते हुने उपनिर्वाचनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिस्पर्धी दलहरूलाई चुनावी अभियानमा खर्च गरेर बालुवामा पानी नहाल्न आग्रहसमेत गरे। उनले सुहाङ हारे इलामलाई घाटा हुने दाबी गरे। उनले भने, ‘एमाले उम्मेदवार पराजित भए इलामलाई घाटा लाग्छ। बहुमतका साथ जिताउनुस् यस क्षेत्रको विकासको जिम्मा म लिन्छु।’ उनले सुहाङ कमाउन चुनावी मैदानमा नआएको प्रष्ट पारे। देश बनाउनका लागि उकाली ओराली हिँडेको उनको भनाइ छ। सुहाङले बहस गरेरै कमाउने ओलीले बताए।

अध्यक्ष ओलीले फाल्गुनन्दलाई राष्ट्रिय विभूति एमालेले बनाए पनि अहिले एमाले फाल्गुनन्दविरोधी भनेर भ्रम फैलाएको आरोप लगाए। ‘हामी फाल्गुनन्द राईलाई राष्ट्रिय विभूति बनाउने अनि अहिले एमालेलाई नै फाल्गुनन्दविरोधी भन्ने?,’ उनले प्रश्न गरे, ‘हामीले जे-जे भनेका छौं, त्यो पूरा पनि गरेका छौं।’

उनले एमालेको नेतृत्व र संयोजनमा संविधान बनेको दाबी गरे। ‘हामीले संघीयताको कुरा संविधानमा लेख्यौं। भाषा, संस्कृति र पहिचानको कुरा लेख्यौं। अहिले त्यही संविधान पढेर हामीलाई सुनाउने?,’ उनको प्रश्न थियो।

ओलीले यो देश सबैको भएकाले एकल जातीय अधिकारको कुरा गर्नु सान्दर्भिक नभएको बताए। पहिचानवादीहरूप्रति टिप्पणी गर्दै उपाध्यक्ष थापाले साझा अधिकार र साझा कुराले मात्रै समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बताएका थिए। ओलीले एमालेले साझा अधिकारको कुरा गरेकाले ठबन्धनका  उम्मेदवार सुहाङलाई जिताउनुपर्ने बताए।

 

Your Views
Related News