बुटवल : रुपन्देही जिल्ला अदालतले थुनामा रहेका रोल्पाका दिपेश कुमार पुनलाई चार लाख धरौटीमा छाड्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले उनीसहित ६ जनालाई धरौटीमा छाड्न आदेश दिएको हो।

नेकपा (माओवादी) केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिवसमेत रहेका दीपेश पुन पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा हुन्। सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङलाई पूरपक्षका लागि थुनामा राख्ने आदेश भएको छ। धरौटीमा छुटेका पुनले चार लाख रुपैया धरौटी बुझाउन नसकेपछि कारागारमै छन्।

बुटवलमा रहेको सुप्रिम वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताको रकम हिनामिना प्रकरणमा पुनसहित ६ जना धुनामा थिए। अदालतको आदेशअनुसार नबिन अछामीसँग दश लाख, दुर्गा चापागाईं पाण्डे १८ लाख, निता थापा मगर दुई लाख, दीपक न्यौपाने चार लाख ४५ हजार र रोशनी गुरुङ दुई लाख धरौटीमा छुटेको रुपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए।

सुप्रिम सहकारीका करिव १ हजार ३ सय बचतकर्ताहरूको करिब १ अर्ब ३ करोड रुपैयाँ अपचलन गरेको प्रहरीमा उजुरी छ। सहकारीका पूर्व अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई अझै फरार छन्।

 

Your Views
Related News