सुदूरपश्चिम : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले वाम एकता नहुने बताएका छन्। आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सत्तासमीकरण वामपन्थीको मात्र नभएकाले राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्ने धारणा राखेका हुन्।

उनले भने, ‘वर्तमान सत्ता समीकरण वामपन्थीको मात्रै भनेर गरिएको होइन, राजनीतिक सत्ता समीकरणका रुपमा बुझ्नुपर्छ,अहिले वाम एकता भन्नु सही हुँदैन।’

वर्तमान सत्ता समीकरण पूरा अवधि जाने उनको दाबी छ। उनले भने,‘राजनीतिक रुपमा बाहिर बजारमा चर्चा गरिएजस्तो समीकरणमा कुनै पनि समस्या छैन।’

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताए।  नीति तथा कार्यक्रम र बजेट वैज्ञानिक, वस्तुपरक र जनमैत्री बनाउने काम भइरहेको उनले जानकारी दिए।

पहिलो पटक नेपालमा हुन लागेको कतारका राजा अमिरको भ्रमणको तयारीमा सरकार लागिरहेको बताउँदै प्रधानमन्त्रीले यो ऐतिहासिक अवसर भएको बताए। साथै यही वैशाख १६ र १७ गते आयोजना हुन लागेको लगानी सम्मेलनको पनि तयारी पूरा हुने चरणमा रहेको प्रधानमन्त्रीले उल्लेख गरे।

‘लगानी सम्मेलनका विषयमा सबैतिरबाट सकारात्मक र उत्साहवर्द्धक प्रतिक्रिया आएको छ, विदेशी लगानीकर्ता र स्वदेशकै निजी क्षेत्रलाई लगानी गर्नका लागि प्रोत्साहित गर्न आवश्यक छ’, उनले भने, ‘लगानीमैत्री वातावरण बनाउन सरकारले मन्त्रिपरिषद् बैठकबाट केही ऐनहरु अध्यादेशमार्फत् ल्याउन लागेको छ।’

प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको जलवायुपरिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन नेपाल आफैँले आयोजना गर्न लागेको जानकारी दिए। उनी धनगढी विमानस्थल हुँदै कञ्चनपुर पुगेका छन्। -रासस

 

Your Views
Related News