चुलाचुली (इलाम) : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काम गर्न नसकेको दिन सरकार छोड्ने बताएका छन्। मंगलबार इलामको चुलाचुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै रास्वपाका मन्त्रीहरूले ‘मिति नलेखेको राजीनामा पत्र’ गोजीमै बोकेर हिंडेको दाबी गरे।

उनले सरकारमा काम गर्न सकिएन र पाइएन भने टाँसिएर नबस्ने बताए। उनले भने, ‘प्रधानमन्त्रीले गलहत्याएर निकाल्न पर्दैन। टाँसिएर बस्ने काम हामी गर्दैनौं।’

उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको भन्दै प्रमाण भेटे आफूलाई पनि नछोड्ने बताए। उनले भने, ‘प्रमाण भेट्दैनन्, त्यसैले छोडेकामात्रै हुन्।’

उनले कानुन बनाएर भए पनि सहकारीमा जम्मा गरेको जनताको रकम फिर्ता गर्ने आश्वासन दिए। उनले सहकारीमा बचत गरेका जनताको पैसा नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि फिर्ता हुने वातावरण सरकारले बनाउने बताए्।

‘अध्यादेशबाट कानुन ल्याएर भए पनि जनताको बचत फिर्ता गरिन्छ,’ उनले भने। उनले इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बु भूगोलको प्रतिनिधित्व गर्न सक्षम व्यक्ति भएकाले उनको पक्षमा मतदान गर्न आग्रह गरे।

 

Your Views
Related News