१७ वैशाख । तारा गाउँ विकास समितिले आयोजना गरेको बागमती प्रदेश होमस्टे(घरवास) कार्यशाला गोष्ठी ७ बुदेँ ककनी घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । नुवाकोटस्थित ककनीमा रहेको तारा गाउँ रिसार्ट होटलमा भएको दुई दिने होमस्टे सन्चालकहरु सहभागी कार्यशाला गोष्ठीले नेपालको होमस्टे पर्यटनलाई व्यवस्थित र मर्यादित तथा उचित प्रतिफल दिने आधार बनाउन ७ बुँदे ‘ककनी घोषणापत्र जारी’ गरेको हो ।
बागमती प्रदेशभित्र सन्चालनमा रहेका होमस्टेका सन्चालक तथा प्रतिनिधि, होमस्टे महासंघ, सरोकारवाला निकाय लगायतको उपस्थितीमा दुई दिन भएको बृहत छलफल तथा अन्तरक्रियापछि भेलाले होमस्टेलाई व्यवसायीकरणसँगै सम्पदा पहिचान, प्रबद्र्धन, प्रकाशन तथा बजारीकरणमा एक रुपता कायम गर्ने, सञ्चालनमा रहेका होमस्टेहरुको सेवा एवं उत्पादनको गुणस्तरीयता मापन गर्ने प्रणाली निर्माणका लागि पहल गर्ने लगायतका निर्णय गरेको छ । यस्तै होमस्टे (घरबास) पर्यटनको विकाससँगसँगै स्थानीय संस्कृति, रैथाने उत्पादन्को संरक्षण गर्न होमस्टेकर्मीलाई प्रोत्साहित गर्ने र होमस्टे पर्यटनसम्बन्धी तालिममा एक रुपता कायम हुने पाठ्क्रम तयार गर्न पहल गर्ने पनि जारी घोषणापत्रमा उल्लेख छ ।
साथै भेलाले तारा गाउँ विकास समितिलाई ग्रामीण पर्यटनको अध्ययन तथा अनुसन्धान केन्द्रका साथै नियमक निकायको रुपमा स्थापित गर्न सरकारको ध्यानाकर्षण गराउनुनुका साथै समितिमा होमस्टे महासंघको संस्थागत प्रतिनिधित्व गराउन समेत पहल गर्ने पनि निर्णय गरेको छ ।


यसैगरी घोषणापत्रमा ग्रामीण पर्यटन तथा होमस्टे पर्यटनलाई ऐनद्वारा नै व्यवस्थित गर्न तथा ऐन जारी हुन नसक्दासम्म तीनै तहका सरकारसँग समन्वय गरी हरेक तहका सरकारले जारी गरेका होमस्टे कार्यविधिलाई एकरुपता कायमका लागि संस्कृति, पर्र्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने र तारा गाउँ विकास समितिको अगुवाईमा प्रविधिमैत्री बजारीकरणका लागि डिजिटल प्लेटफर्म निर्माण गर्न साझा प्रयत्न गर्ने उल्लेख छ ।
सामुदायिक विकासका लागि ग्रामिण पर्यटन भन्ने नाराका साथ सन्चालित उक्त कार्यशालामा अधिवक्ता घनेन्द्र श्रेष्ठले होमस्टे र पर्यटन कानून तथा डा. आलोक बाबु प्रसाईले होमस्टे प्रवद्र्धनमा तारा गाउँ विकास समितिको भूमिका विषयक दुई वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्रमाथि ६० जना भन्दा बढी होमस्टे सन्चालकहरु, तारागाउँ विकास समितिका अधिकारीहरु र पर्यटन विज्ञहरुबीच छलफल, प्रश्नोत्तर गर्नुका साथै होमस्टे सञ्चालनमा भोग्न परेका समस्या र समाधानका बिषयमा सहभागीहरुले अनुभव सहितका धारणा राखेका थिए ।
समापन कार्यक्रममा बोल्दै बागमती प्रदेश सांसद रमेश कुमार महतले ग्रामिण पर्यटनलाई प्राथमिकतामा राख्न सके मुलुकले आर्थिक सम्बृद्धिको यात्रा पार गर्ने बताउनुभएको छ । त्यसका लागि दुई छिमेकी मुलुकका पर्यटकलाई नेपाल भित्र्याउन सके मात्रै पनि नेपालले अर्बो आर्थिक आम्दानी गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, “हाम्रो मुलुकमा ठूला–ठूला औधोगिक आयोजना, उद्योग सम्भव छैन, तर पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर हाम्रा दुई छिमेकी मुलुकबाट मात्रै पर्यटक भित्र्याउन सकियो भने आर्थिक कृयाकलाप अभिवृद्धि र समग्र आर्थिक विकास र समुन्नतिमा टेवा पुग्छ ।” छिमेकी मुलुकको विकासको उपयोग नेपालले समेत गर्न सक्नुर्पेमा उहाँको जोड थियो ।
सांसद महतले डेढ अर्ब जनसङख्या भएका दुई छिमेकी मुलुकबाट शुन्य दशमलव १ प्रतिशत मात्रै पर्यटक भित्र्याउन सके पनि नेपालका होमस्टे लगायत होटलहरुले समेत धान्न नसक्ने धारणा राख्नुभयो । होमस्टे नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक रहेको भन्दै उहाँले महिला दिददिबहिनीले आफ्नो घरमा रहेका सामग्रीको प्रयोग गरेर सानो लगानीमा पर्यटकलाई स्वागत सत्कार गरि खुशी बनाएर स्वरोजगार र देशको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुयाउने विश्वास व्यक्त गर्नुभयो ।
पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकमा होमस्टेप्रति आकर्षण बढ्दै गएको छ तर यसको गुणस्तरीय सेवा प्रदान आजको आवश्यक्ता हो सांसद महतले भन्नुभयो, “त्यसतर्फ तारागाउँ विकास समितिले विशेष ध्यान जान जरुरी छ ।” ग्रामिण पर्यटन प्रवद्र्धनका लागि नै तारा गाउँ विकास समितिको स्थापना भएको स्मरण गराउर्दैँ उहाँले सोहि कारण ककनी, नगरकोट र पोखरामा रिसोर्ट सन्चालन गरेकोमा अब भने परिवर्तित परिवेश र अवस्था अनुकुल संस्थाले आफ्ना कामहरुलाई अगाडि बढाउनु पर्ने बताउनु भयो ।
समितिले आफ्नो काम गर्ने दायरा बढाउदैँ मोबाईल पर्यटन प्रवद्र्धन कार्यक्रम लिएर ग्रामिड क्षेत्रहरुमा जान जरुरी छ उहाँले भन्नुभयो, “पर्यटकलाई आकर्षित गर्ने स्थान तथा सम्भावना बोकेका स्थानमा गएर केहि समय बस्ने, पर्यटनको पूर्वाधार बनाउने, तालिम चलाउने र त्यसपछि छाडेर अन्यत्र जाने गर्नुपर्छ यसो गरेमा ग्रामिण क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै होमस्टे संसलन गर्न चाहनेलाई प्रेरणा र सहयोग पुग्ने छ ।”

उहाँले तारा गाउँ विकास समितिले यस्ता कार्यक्रम गर्ने योजनाहरु ल्याएमा बागमती प्रदेश सरकारको वजेटमा नै समावेश गराउन पहल गर्ने प्रतिबद्धता जनाउनु भयो । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण ठूला होटल रेस्टुडेन्ट भन्दा ग्रामिण क्षेत्रमा पुगेर होमस्टेमा बसेर त्यहिको लोकल खानाको स्वाद लिर्दै मौलिक कला संस्कृतिको बारेमा जानकारी लिनेतर्फ बढी देखिएकाले अहिले त्यहि अनुसार आफ्ना कार्यक्रम अघि बढाउनु पर्नेमा उहाँको जोड थियो ।
धार्मिक पर्यटनको सम्भावना पनि नेपाल प्रचुर रहेकोले त्यसतर्फ पनि दिर्घकालिन योजना ल्याएर काम गर्न उहाँले सुझाउनुभयो । सांसद महतले ग्रामिण पर्यटन प्रवद्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको तारा गाउँ विकास समितिले होमस्टे क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि गरेको कार्यशाला गोष्ठीले जारी गरेको ७ बुदेँ घोषणापत्र होमस्टे क्षेत्रका लागि कोशेढुंगो सावित हुने आशा व्यक्त गर्दै कार्यान्वयनमा लैजान पनि जोड दिनुभयो ।

 

यस्तै कार्यक्रममा समाजसेवी राजन न्यौपानेले नेपाल पूर्वाधारमा धेरै कमजोर भएकाले पर्यटन क्षेत्रले सम्भावना अनुसार सफलता प्राप्त गर्न नसकेको बताउनु भयो । ककनी क्षेत्र पनि पूर्वाधारकै कारण पछि परेको उहाँको भनाई थियो । तर सडक स्तरउन्नतीको कार्य सम्पन्न भएपछि ककनीले पर्यटन क्षेत्रमा डूलो फड्को मार्ने आशा व्यक्त गर्नुभयो । साथै उहाँले होमस्टेबारे अझै गाउँघरमा बुझाउन र विकास गर्न जरुरी रहेको बताउनु भयो ।
भेला पछि सहभागी होमस्टेर्कीहरुले यस्ता तालिम तथा गोष्टीको आयोजनाले होमस्टे सन्चालन तथा विस्तारमा सघाउ पुर्याउने भएकाले निरन्तरता दिन तारा गाउँ विकास समितिसँग आग्रह समेत गरेका थिए।

 

Your Views
Related News