काठमाडौं : नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले नयाँ सरकार गठनका बारेमा एमालेसँग कुनै ठोस छलफल नभएको बताएका छन्। बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसँग उनले वर्तमान सरकारको विकल्पमा नयाँ सरकार गठन गर्ने विषयमा एमालेसँग कुनै सम्बाद नभएको स्पष्ट पारेका हुन्।

‘आज वा भोलि नै समीकरण भत्काउन हामी हतारिएका छैनौं। नेपाली कांग्रेस संघमा मात्रै होइन, सातवटै प्रदेशमा ठूलो दल भएका नाताले अरु पार्टीसँग छलफल गर्नु, सम्बाद गर्नु स्वभाविक कुरा हो,’ उनले भने, ‘अर्को कुरा एमालेसँग मिलेर सरकार बन्छ कि भन्ने कुरा छ, त्यसका बारेमा कुनै ठोस सम्बाद भएको छैन। एमालेका नेताहरूसँग पनि औपचारिक/अनौपचारिक सम्बाद भएको छैन।’

उनले साना दलहरू मिलेर सरकार बनाउँदा पटक-पटक परिवर्तन भइरहने अवस्थामा ठूला दलहरू मिलेर सरकार बनाउनु उपयुक्त हुने जनमानसमा धारणा उव्जिएको बताए। ‘साना-साना दल मिलेर बनेको सरकारले अस्थिरता निम्त्यायो। यसलाई रोक्न ठूला दल मिलेर सरकार बनाउने हो कि भन्ने आम धारणा रहेको छ। यो धारणा कांग्रेसमा मात्रै होइन, एमालेमा पनि छ। त्यसैले होला कहिलेकाहीँ अब सरकारै पो बनिहाल्छ कि भन्ने हुन्छ। तर सरकार बनाइहाल्ने तहमा वार्ता सम्बाद भएको छैन,’ उनले भने।

 

Your Views
Related News