काठमाडौं : नेपाली  कांग्रेसको संसदीय दलको बैठक आज दिउँसो बस्ने भएको छ। शुक्रबार बजेट अधिवेशन सुरु हुने भएकाले कांग्रेसले संसदमा खेल्न भूमिका र सहकारी ठगी प्रकरणको विषयमा छलफल गर्न आज संसदीय दलको बैठक बोलाएको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

सरकारले जेठ १५ गते बजेट र त्यस अगाडि नीति तथा कार्यक्रम ल्याउँदैछ। यस अगाडि उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि  लामिछाने सहकारी ठगीमा संलग्न रहेको भन्दै निरन्तर संसद अवरोध गरेको थियो।

शर्माका अनुसार बुधबार बसेको केन्द्रीय पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सहकारीको  अनियमितताका सन्दर्भमा संसदीय छानबिन हुनुपर्ने निर्णय गरेको छ। कांग्रेसले कुनै  व्यक्ति  विशेषलाई  उन्मुक्ति  दिने  अभिप्रायले  समिति  गठन  नगर्ने  भन्ने कुरा सम्भव नभएको ठहर गरेको छ।

कांग्रेसले लामिछानेसमेत  हिस्सेदार रहेको  गोर्खा  मिडिया नेटवर्कमा विभिन्न सहकारीबाट लगानी गरी आर्थिक अपचलन भएको बताउँदै संसदीय छानबिनको माग गर्दै आएको छ।

सभामुख देवराज घिमिरेको पहलमा मंगलबार बसेको सर्वदलीय बैठकमा कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको माग दोहोर्‍याएको थियो। उक्त बैठकमा लामिछानेले भने व्यक्ति केन्द्रित संसदीय छानबिन समितिको माग अस्विकार गरेका थिए। तर, कांग्रेसले ‘लामिछाने देशको संविधानभन्दा माथि हो ?’ भन्दै व्यक्ति नतोकी छानबिन गठन गर्ने प्रस्ताव अस्वीकार गरेको थियो।

वैशाख २८ देखि सुरु हुने प्रतिनिधिसभा अधिवेशनको तयारीबारे मंगलबार सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका थिए। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता सहभागी थिए।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी प्रकरणमा लामिछानेमात्रै नभएर समग्र सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि छानविन आयोग गठन गर्नुपर्ने बताएका छन्।

‘लाखौं मान्छेको अर्बौं रुपैयाँ रकम सहकारीमा जम्मा भएको छ। त्यो रकम अपचलन भयो। दुरुपयोग भयो। जसका कारण बचतकर्ताको रकम जोखिममा परेको छ। बचतकर्ताको रकम सुरक्षा गर्नका लागि दुरुपयोग गर्ने मानिसहरूलाई कारबाही गर्नुपर्‍यो भनेका हौं। तर, गृहमन्त्रीमाथि मात्रै छानबिन गर्न माग गर्‍यो भनेर गलत भाष्य निर्माण गर्न खोजिएको छ। त्यस्तो होइन,’ उनले भने।

लेखकले संविधान र कानुनभन्दा माथि कोही नरहेको बताउँदै देशको गृहमन्त्री भएकै कारण लामिछानेमाथि छानबिन गर्नुहुँदैन भन्ने न्यारेटिभ गलत रहेको बताउँदै आएका छन्। ‘अरू सबै कुराको छानबिन हुने, अनि रवि लामिछानेमाथि छानबिन नहुने भन्ने हुन्छ ? कोही मान्छे यो संविधानभन्दामाथि छ ?’ उनले प्रश्न गरे।

 

Your Views
Related News