काठमाडौं : संघीय लिम्बुवान पार्टी नेपाल एकीकरण भएर जनता समाजवादी पार्टी नेपालमा समाहित भएका नेताहरूले जसपा नेपाल छाडेका छन्।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी विभाजनप्रति असन्तुष्टि जनाउँदै जसपा नेपाल छाडेको घोषणा गरेका हुन्। उनीहरूले प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा घोषणा गरेका छन्।

पत्रकार सम्मेलनमा लावतीले पछिल्लो समय पार्टीका मुख्य नेतृत्वहरू पहिचानले निर्दिष्ट गरेको मुद्दाभन्दा पनि सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाए। उनले अहिले आफूहरू जसपा नेपाल वा जसपा कुनैको पक्ष नलिने तर पहिचानवादीहरूसँग सहकार्य गर्ने बताए।

पहिचानवादी मोर्चाका संयोजक लावतीले नेपालमा सदियौंदेखि एकल जातीय राज्य स्थापित भएको र आज पनि एकल जातीय राज्य कायमै रहेको भन्दै नेपाल बहुजातीय समाज भएकाले नेपाली राज्य पनि बहुजातीय हुनुपर्ने, सबैको पहिचान स्थापित हुनुपर्ने प्रष्ट पारे।

जसपा नेपालमा पहिचानबारे विचार राम्रोसँग समेटिएकाले आफूहरू पहिला उक्त पार्टीमा लागेको तर पछिल्लो समयमा पहिचानको आन्दोलन र पहिचानको विस्तारमा जसपा नेतृत्वले समर्थन नगरेको उनको भनाइ छ। मोर्चाले प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिलाई सघाउने उनले बताए।

 

Your Views
Related News