काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन्।

आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले कोही व्यक्तिलाई नतोकी समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्नेगरी समिति बनाउन कांग्रेससँग छलफल भएको र यसमा सहमति हुने विश्वास व्यक्त गरे।

उनले मंगलबारसम्म संसदको गतिरोध हटाउने विषयमा सहमति हुने दाबी गरे। त्यस्तै प्रधानमन्त्री दाहालले जिबी राईलाई यसअघिको सरकारले भगाएको भन्ने कुरा कूतर्क रहेको टिप्पणी गरे। कानुनी जटिलता हटाएर राईलाई स्वदेश ल्याउन सरकारले पहल गरिरहेको उनको भनाइ छ। उनले नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिएको र सोमबार मुख्य सचिवले राष्ट्रपतिलाई नीति तथा कार्यक्रम बुझाउने बताए।

प्रधानमन्त्रीले दाहालले संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कुरामा कुनै समस्या नहुनेसमेत बताए। उनले यसअघि कांग्रेसलाई राष्ट्रपति दिएर अन्य प्रमुख पद सबै दलहरूलाई दिन खोज्दा कुरा बिग्रिएको भन्दै कांग्रेसले आफूलाई र आफूले कांग्रेसलाई नकारात्मकरूपमा लिनुपर्ने कुनै कारण नभएको स्पष्ट पारे।

 

Your Views
Related News