काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसदीय समितिका नाममा सरकार माग गरेको आरोप लगाएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको बैठकपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि संसदीय छानबिन समिति नबन्ने स्पष्ट पारे।

‘कांग्रेसले समिति माग गरेको होइन। समितिका नाममा सरकार माग गरेको हो। जुन सम्भव छैन। कांग्रेसले आत्महत्या गर्छु भनेजसरी प्रस्तुत भए पनि यो माग पूरा हुने अवस्था छैन। संसदीय छानबिन समिति कानुन र नियमसंगत छैन,’ उनले भने।

कांग्रेसको माग सहकारी पीडितलाई न्याय दिने खालको नरहेको उनको भनाइ छ। ‘केवल सरकारसँग जोडिएर आएको कांग्रेसको माग सम्बोधन हुने अवस्था देखिँदैन,’ उनले थपे।

उनले नियमविपरीत समिति बनाउँदै जाँदा कानुन बनाउन आएका सांसदहरू अनुसन्धान अधिकारीमा परिणत हुने बताए। ‘हामी कानुन निर्माणका लागि यहाँ आएका हौं। अनुसन्धान गर्न आएका होइनौं। विभिन्न नाममा समिति बनाउँदै जाने हो भने ५ वर्ष हामी अनुसन्धान अधिकारीमात्र बनिरहन्छौं,’ प्रमुख सचेतक बर्तौलाले भने। उनले सहकारी पीडितको रकम फिर्ता गर्ने सबालमा एमालेले पनि सरकारलाई दबाब दिने बताए।

उनले जेठ गते ३ बजे सभामुखले नभएर राष्ट्रपतिले बैठक बोलाएकाले कांग्रेसले के गर्ने भन्ने चासो आफूहरूलाई पनि रहेको बताए। सरकारले जेठ १ गते नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ।

 

Your Views
Related News